‘इन्डियन आइडल’ १२ बने पवनदीप



एजेन्सी। भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘इन्डियन आइडल १२’ पवनदीप राजनले जितेका छन् । इन्डियन आइडल बिजेता पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै लक्जरी कार समेत जितेका छन् ।

यसैगरी, दोस्रो स्थानको ट्रफी अरुणिता कांजीलालले हात पारिन् भने तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन् । यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन् । आइतवार सम्पन्न १२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए । पवनदीप सीजन–१२ को सबैभन्दा चर्चित प्रतिष्पर्धी हुन् । उनी गीत गाउँदा आफै बाजाहरु पनि बजाउने गर्छन् । उनलाई गायक बप्पी लहिरीले आफ्नो तबलासमेत उपहारमा दिएका थिए ।

पवनदीपको जन्म सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा भएको थियो । उनका पिता सुरेश राजन पनि गायक हुन् । उनका पिता उत्तराखण्डको सार्वजनिक कार्यक्रमहरुमा गाउने गर्छन् ।

पवनदीपले साढे २ वर्षकै उमेरमा तबला बजाएर अवार्ड पनि जितेका थिए । उनले करिब १३ वटा देश र भारतका १४ राज्यमा करिब १२०० वटा शो गरिसकेका छन् ।