भ्वाइस अफ नेपाल विजेता किरणले थपे अर्को एम्बुलेन्स सहयोग



काठमाडौँ। ‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला आफ्नो जन्मथलो झापामा छन् । इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको आयोजनामा आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग तथा तय भएको बधाई ज्ञापन कार्यक्रममा सहभागी हुनका लागि गजमेर त्यहाँ पुगेका हुन् ।

पूर्वि नेपाल पुग्दा किरणले प्रदेश १ मा पहिलो स्वागत मुख्यमन्त्री शेरधन राईबाट पाए । बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरि गजमेरलाई मुख्यमन्त्री राईले स्वागत तथा सम्मान गरेका थिए । उनले प्रदेश १ मा मात्रै पाईने रुद्राक्षको माला लगाईदिदै स्वागत गरेका थिए । राईले गजमेरलाई बधाई तथा सुभकामना दिदै आगामी दिनमा एक औपचारिक कार्यक्रम गरि विशेष सम्मान गर्ने प्रतिबद्धता गरेका छन् ।

बिहिवार इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाद्वारा तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व पुगेका उनले भुटानी शिविर पथरीमा रहेका अशक्त र वृद्दवृद्दाहरुलाई जनही ५ हजारका दरले भत्ता समेत दिएका थिए । यो क्रम हरेक महिना रहदै आजिवन भत्ता उपलब्ध गराउने इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाका रुद्र बानियाँले जानकारी गराए । त्यस्तै बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पनि किरणको लागि स्वागत कार्यक्रमको आयोजना गरिएको थियो । त्यहाँ इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाले वृद्दाश्रम निर्माण गरेको छ ।

रातको समयमा त्यहाँ पुग्दा गजमेरलाई हेर्न भनी सयौँ झापालीहरु कोरोना र निषेधाज्ञाको प्रवाह नगरी प्रतीक्षामा देखिन्थे । किरणले सो ठाउँबाट अर्को एउटा एम्बुलेन्स पनि सहयोग गर्ने घोषणा गरेका छन् । अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पुर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् ।

कार्यक्रममा इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन नेपाल च्याप्टरका अध्यक्ष अभिनेता दिलिप रायमाझी, अभिनेताहरु रमित ढुंगाना र संजीत भण्डारी, समाजसेवी सुरेन्द्र शर्मा लगायतको पनि उपस्थिति रहेको थियो ।