अमेरिकामा ‘ओभर डोज’ को प्रिमियर



काठमाडौँ। अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित चलचित्र ‘ओभर डोज’ प्रिमियर सम्पन्न भएको छ । आज मे २९ को दिन अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर सम्पन्न भएको हो । ड्रग्स र अपराधको कथामा निर्माण भएका यस चलचित्रमा प्रनिसराज पन्त,सविनजंग थापा, बिना श्रेष्ठको मुख्य भुमिका रहेको छ भने गौरव गुरुङ र स्वामी डिजे लगायत अमेरिकन कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

सुमन पौडेलको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रलाई नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको हो । निर्देशक पौडेलका अनुसार नेपाली तथा अंग्रेजी भाषामा चलचित्र निर्माण भएको हो । छोटाचलचित्र , म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको यो टिमले ड्रग्स र अपराधमा संलग्नहरूको जीवन यात्राको कथालाई फिचर फिल्ममा निर्माण गरेको हो । चलचित्रलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको निर्देशक पौडेलले बताए । चितवन निवासी पौडेल केहि वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् ।

दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रलाई साजन कार्कीले सम्पादन गरेका छन् । यस चलचित्रलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको योजना रहेको छ ।