युट्युबमा गलत सामाग्री प्रसारण गर्नेहरुलाई कारवाही गर्न प्रेस काउन्सिलसँग आग्रह



काठमाडौँ। पत्रकारिताको मर्म विपरित युट्युबमा गलत सामाग्री प्रसारण गर्नेहरुलाई तत्काल कारवाही गर्न अनलाइन टिभी पत्रकार संघले प्रेस काउन्सिल नेपालसँग माग गरेको छ ।

संघको तर्फबाट अध्यक्ष जीवन भण्डारीले काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै उक्त माध्यममा विकृति गर्नेहरुलाई कारवाही गर्न माग गरेका हुन् ।

युट्युबलगायतका विभिन्न माध्यमबाट भिडियो सामग्री सम्प्रेषण गर्ने क्रममा अधिकांशले पत्रकारिताको मर्मविपरीत गरेकाले गलत गर्नेलाई कारवाही गर्न र राम्रो गर्नेलाई संरक्षण गर्न पनि ज्ञापनपत्रमा आग्रह गरिएको छ । अनलाइन टिभीका क्षेत्रमा यसअघि पनि विकृति हुँदै आएकामा पछिल्ला दिनमा ‘प्रयाङ्क’का नाममा थप विकृति देखिन थालेको भन्दै संघले काउन्सिलको ध्यानकर्षण गराएको हो ।

केही युट्युब च्यानलबाट अति उच्शृङ्खल, अशिष्ट, अपाच्य र सञ्चारमाध्यमको सामान्य सिद्धान्तविपरीतका सामग्री प्रसारण भइरहेको संघले जनाएको छ । संघले पत्रकारिताको दायरामा रहेका सञ्चारमाध्यमलाई पत्रकारितासम्बन्धी कानून र त्यसभन्दा बाहिरकालाई अन्य कानूनअनुसार कारवाही गर्न–गराउन काउन्सिललाई आग्रह गरेको छ ।

सङ्घको ज्ञापनपत्र बुझेपछि काउन्सिलका कार्यबाहक अध्यक्ष बुढाथोकीले युट्युबमा भइरहेको विकृतिले सीमा नाघेको भन्दै कारवाही प्रक्रिया अब तीव्र पारिने प्रतिबद्धता जनाए । उनले पत्रकार आचारसंहिता मान्नुपर्ने आफूहरुको पहिलो शर्त हुने र नमान्नेप्रति कुनै सहानुभूति हुनै नसक्ने स्पष्ट पारे ।

अनलाइन टिभी सञ्चालन गर्दै आएकाहरुलाई काउन्सिलले सूचीकृत हुन आग्रह गर्ने र सूचीकृत हुन आउनेलाई आचारसंहिताको दायरामा ल्याएर परिस्कृत गर्दै लैजाने योजना बनाएको पनि बुढाथोकीले जानकारी दिए । सूचीकृत हुन नआउनेलाई काउन्सिलले नचिन्ने पनि बताए । उनले अनलाइन टिभीको क्षेत्रमा शुद्धीकरण र सुदृढीकरणका लागि संघसँग सबै प्रकारका सहयोग, सहकार्य र समन्वय गर्न काउन्सिलले चाहेको जानकारी दिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.