निफमा ‘आमा खान्डो’ उत्कृष्ट चलचित्र, नविन र सरिता उत्कृष्ट अभिनेता अभिनेत्री



काठमाडौँ। नेपाल अन्तरराष्ट्रिय फिल्म फेस्टिभल (निफ) सकिएको छ । उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्दै ५ दिनसम्म चलेको निफ सकिएको हो । कोभिड १९ कोरोना भाइरसका कारण देशमा बन्दा बन्दि भएकोले कार्यक्रम अनलाइन मार्फत सम्पन्न गरिएको हो। महोत्सवमा फिचर चलचित्रको राष्ट्रिय प्रतिस्पर्धामा ‘आमा खान्डो’ उत्कृष्ट घोषित भयो । डान्डुप छिरिङको निर्देशनमा बनेको यो चलचित्रले उत्कृष्ट निर्देशकको विधामा पनि अवार्ड हात पार्यो ।

यो चलचित्रले नगद एक लाख पुरस्कार जितेको छ । यस्तै, अभिनेतातर्फ पुरुष र महिला दुबै अवार्ड ‘लाटकोसेरो’ले जित्न सफल भएको छ । यो चलचित्रबाट नविन शिल्पकारले अभिनेतातर्फ र सरिता गिरीले अभिनेत्रीतर्फ अवार्ड जिेत । सिरिस गुरुङको निर्देशन तथा छायांकनमा तयार यो चलचित्रले छायांकनतर्फ पनि अवार्ड जितेको छ ।

फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड ‘सरिता टेल मि हु आई एम’ले जितेको छ । अन्तरराष्ट्रिय प्रतिस्पर्धामा फिचर चलचित्रको अवार्ड बात्र्या बसुको निर्देशनमा बनेको ‘डिक्स्नेरी’ले जितेको छ । यो चलचित्रले १५ सय डलर पुरस्कार प्राप्त गरेको छ ।

यस्तै, छोटो चलचित्र तथा वृत्तचित्र विधामा रहेको अन्तरराष्ट्रिय चलचित्रमध्ये दक्षिण कोरियाको ‘गड्स इटर डान्सेज’ले ५ सय डलर सहित बागमती पुरस्कार जितेको छ । यस्तै, नेपालबाट भने राजेशप्रसाद खत्रीको निर्देशनमा बनेको ‘जुलुङ्गो’ उत्कृष्ट हुन सफल भयो । यो चलचित्रले पनि ५ सय डलर नै पुरस्कार जितेको छ ।

फिनल्याण्डको चलचित्र ‘उबरफ्रग’ एनिमेटेड विधामा उत्कृष्ट हुन सफल भयो । यो चलचित्रले ७ सय ५० डलर सहित मञ्जुश्री अवार्ड जितेको छ ।

यो महोत्सवमा वृत्तचित्रतर्फको अवार्ड स्विजरल्याण्डको ‘रिटर्न टू दि लस्ट इडेन’ले जितेको छ । यस्तै, यो विधामा गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट हुँदै ५ सय डलर पुरस्कार पनि प्राप्त गरेको छ ।

बिहिबारदेखि सुरु भएको यो महोत्सवमा ६६ वटा चलचित्र प्रदर्शन गरिएको थियो ।