संयोजक भुसालद्धारा कल्याणकारी कोषलाई रकम हस्तान्तरण



काठमाडौँ । अभिनेत्री बसुन्धरा भुसाल नेपाली चलचित्र क्षत्रेका लागि प्रतिष्ठित नाम हो । उनी विगत पाँच दशकदेखि नेपाली चलचित्र क्षेत्रमा अनवरत रुपमा लागि रहेकी छन् । विशेषत संघ संस्थाको वृद्धि विकास र फिल्मकर्मीको सेवा सुरक्षाका लागि निरन्तर खटिरहने भुसाल चलचित्र विकास बोर्ड अन्तर्गतको फिल्मकर्मी कल्याणकारी कोषकी संयोजक समेत हुन् ।

स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफुलाई व्यस्त बनाउने गरेकी छन् । राष्ट्रिय कार्यक्रमदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म भुसालले कोषको लागि सहयोग जुटाउँदै आएकी छन् । हाल कोषमा चार करोड बढि रकम जम्मा भएको छ । यसमा सबैभन्दा बढि भुमिका अभिनेत्री भुसालकै रहेको छ ।

कोषले समस्यामा रहेका फिल्मकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, फिल्मकर्मी वृद्ध तथा असक्त सुरक्षा भत्ता वितरण, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरान्त काजकिरिया गर्न सहयोग गर्नेलगायतका सेवा वितरण गर्दै आएको छ । सोही कोषका लागि अभिनेत्री भुसालले आफ्नो व्यक्तिगत घुमघामका लागि अमेरिका पुग्दा समेत सहयोग रकम जुटाएकी छन् ।

आफ्नो पारिवारीक भेटघाट र घुमघामको लागि ६ महिना अघि अमेरिका पुगेकी अभिनेत्री भुसालले चार लाख बढि रकम संकलन गरेर ल्याएकी हुन् । बुधवार भुसालले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई ३ लाख बिस हजार बढि रकम हस्तान्तरण गरेकी हुन् ।

उनले अमेरिकामा रहेका कलाकार तथा फिल्मकर्मी र नेपालीहरुसंग सहयोग संकलन गरेकी थिइन् । सोही रकम उनी नेपाल आउने बितिकै बोर्डलाई हस्तान्तरण गरेकी हुन् ।

अमेरिका बाल्टिमोरमावासी बरिष्ठ लोक गायक प्रेम राजा महतबाट १ लाख तीन हजार दुई सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बिस, कलाकार साराङ्गा श्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सबिता अधिकारीबाट १२ हजार छ सय, दिव्य चन्दबाट १२ हजार एक सय बिस, कलाकार अरुणिमा लमसालबाट १२ हजार एक सय बिस,कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बिस, कलाकार रञ्जना शर्माबाट १२ हजार एक सय बिस, कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस, कलाकार राधा शर्मा (भाव)बाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, अमेरिका न्युजर्सिवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस,अमेरिका बोस्टनवासी संचिता थापाबाट २४ हजार एक सय बिस, सदिक्षा अधिकारीबाट ७ हजार दुई सय, अमेरिका न्युयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय बिस गरि ३ लाख १६ हजार पाँच सय ६० रुपैयाँ सहयोग संकलन भएको थियो । यसमा नपुग केही रकम बसुन्धरा भुसाल र चेत नारायण भुसाल परिवारले थपेका छन् । यस्तै नायक पल शाहले पनि १ लाख एक सय एक रुपैयाँ घोषणा गरेका छन् ।

कोरोनाको समयमा निकै मेहनतका साथ बसुन्धारा भुसालले धेरै रकम संकलन गरेको अमेरिकावासी कलाकारहरुले बताएका छन् । उनको यो समर्पण प्रति सम्पूर्ण अमेरिकावासी फिल्मकर्मी नतमस्तक रहेको समेत अभिनेत्री पुजा चन्द लामाले बताएकी छन् । गत अप्रिल ३ तारिक पुजा चन्दले आफ्नै घरमा सबैलाई जमघट गर्दा सहयोग अपिल गरिएको थियो । जसका लागि प्रकाश शर्मा र गायक राजु लामाले सहयोग गरेका थिए ।