धर्मेन्द्रका नाती सन्नी देओलका कान्छा छोरा पनि बलिउडमा डेब्यु गर्दै



एजेन्सी। कोभिडका कारण फिल्म निर्माणको संख्या घटे पनि बलिउडमा स्टार किडको डेब्यु भने रोकिएको छैन । अभिनेता सन्नी देओलका कान्छा छोरा राजवीर देओल पनि बलिउड डेब्यु गर्दैछन् । हालै राजश्री प्रोडक्सनसँग जोडिएका उनी प्रेमकथामा बन्दै गरेको फिल्म मार्फत पर्दामा देखिँदैछन् ।

यो फिल्म राजवीरको मात्र नभएर निर्देशनका हिसाबले अविनाश बड्जात्याको पहिलो निर्देशकीय फिल्म हुनेछ । फिल्मको कथा उनले नै लेखेका हुन् । ‘राजीव एकदमै मिहेनती छ । जति-जति म उसँग फिल्मको विषयमा कुराकानी गर्छु उसलाई फिल्मको हिरो देख्छु,’ अविनाशले द हिन्दुस्तान टाइम्सलाई भनेका छन् । फिल्मको टिम अहिले अभिनेत्रीको खोजीमा छ ।

धरमेन्द्रले नाति फिल्ममा खेल्दै गरेको खुसी सामाजिक सञ्जाल ट्विटरमा व्यक्त गरेका छन् । ‘मेरो नाति राजवीर फिल्म क्षेत्रमा डेब्यु गर्दैछ । ऊसँगै अविनाशले पनि डेब्यु गर्दैछन् । मेरा दुई छोरालाई दिनुभएको प्रेम नातिलाई पनि दिनुहोला ।,’ धमेन्द्रले लेखेका छन् ।

सन्नी लेख्छन्, ‘मेरो छोरो राजवीरले अभिनयको यात्रा सुरू गरेको छ । राजश्री प्रोडक्सनले राजवीर र अविनाशलाई बजारमा ल्याउँदैछ । उनीहरुको यात्रा प्रतिक्षित बनेको छ ।’

युकेमा थियटर पढेका राजवीरले सहायक निर्देशक भएर काम गरेका छन् । राजवीरका दाई करण देओलले ‘पल पल दिल के पास’बाट अभिनय यात्रा सुरु गरेका थिए । उनी अब सन्नी र बबी देओलसँग ‘अपने–२’मा देखिँदैछन् ।