चलचित्र पत्रकार संघ कास्कीको चौंथो साधारण सभा सम्पन्न



पोखरा । जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार श्रीराम सिग्देल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको चौंथो वार्षिक साधारण सभा तथा पुरस्कार अर्पण कार्यक्रममा सिग्देल पुरस्कृत भएका हुन् ।

उनलाई प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ताम्रपत्र, दोसल्ला, माला, अबिर र नगद सहित सम्मान गरे । लामो समय देखि पोखरामा रहेर चलचित्र क्षेत्रमा अनवरत कलम चलाएको भन्दै उनलाई नगद २५ हजार सहित सम्मान गरिएको हो ।

२०५४ सालबाट आदर्श समाज राष्ट्रिय दैनिकबाट पत्रकारिता शुरु गरेका सिग्देल चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष हुन् । उनकै नेतृत्वमा २०६० असार २२ गते चलचित्र पत्रकार संघ कास्कीको स्थापना भएको थियो । हाल उनी फेवा पोस्ट साप्ताहिकको सह सम्पादक हुन् ।

यस्तै, लामो समय देखि गण्डकी प्रदेशलाई प्रतिनिधित्व गर्दै चलचित्र क्षेत्रमा कलाकारिताका माध्यम पुर्याएको अतुलनिय योगदानको कदर गर्दै कलाकार प्रकाश घिमिरेलाई संघले सम्मान गरेको थियो । उनका विषयमा चलचित्र पत्रकार संघ कास्कीका सल्लाहकार राजाराम पौडेलले परिचय दिएका थिए । सम्मान ग्रहण गर्दै घिमिरेले चलचित्र पत्रकार संघको उज्जवल भविष्यको कामना गरे । घिमिरेले आफु चलचित्र क्षेत्रको उन्नयन र विकासमा कलाकारिताकै माध्यम अनवरत खटिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका उपाध्यक्ष जीवन पराजुली,नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेल, संचारिका समूहबाट बिमला भण्डारी, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष भोजबहादुर गुरुङ लगायतले बोलेका थिए । संघको चौंथो साधारण सभामा २०७६ माघ २८ गतेदेखि २०७७ फागुन २९ गतेसम्मको एक वर्षको वार्षिक कार्यक्रमको प्रतिवेदनलाई अध्यक्ष अरुण गिरीले प्रस्तुत गरेका थिए । यस्तै सभाको बन्द सत्रमा आर्थिक प्रतिवेदनलाई कोषाध्यक्ष अर्पण तिवारीले पेश गरेका थिए । औपचारिक कार्यक्रमको संचालन सचिव प्रभु अधिकारीले गरेका थिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सकरात्मक सोचका साथ अगाडि बढेमात्र समृद्ध प्राप्ती हुने बताए । चलचित्र पत्रकार संघ नेपाल कास्कीको चौंथो साधारण सभा तथा जित प्रसाद द्वा पत्रकारिता पुरस्कार २०७७ लाई उद्घाटन गर्दै मन्त्री गुरुङले पत्रकारले ठोक्ने प्रवृतिबाट भन्दा पनि क्षेत्रगत अवस्थालाई बोक्ने गरी अगाडि बढ्नुपर्ने बताए ।