नेता पन्तविरुद्ध कोमल वलीको मुद्दा दर्ता



काठमाडौँ। नेता रघु पन्त विरुद्ध कोमल वलीले मुद्दा दर्ता गराएकी छन्। सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरेकी हुन् । उनले गाली गरेवापत १ वर्ष कैद र १० हजार जरिवाना तथा बेइज्जती गरेवापत २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना र त्यसको विद्युतीय माध्यमबाट प्रचार प्रसार गराएवापत थप १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दावी गरेकी छन् ।

गत फागुन १५ गते नेता पन्तले पार्टीमा बिसौं वर्ष योगदान गरेका महिलाहरु भए पनि कोमल वलीले राष्ट्रियसभाको टिकट पाएको भन्दै उनीविरुद्ध लैंगिक हिंसाजन्य टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै उनले वलीलाई ‘सारी सरक्क सर्काएर पिंडुला देखाएको भरमा सभासद बनेको’ आरोप लगाएका थिए ।

पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको वलीको भनाइ छ । वलीले आफ्नो इज्जतमा धक्का पुर्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएकाले मुलुकी अपराध संहिता बमोजिम सजाय हुनुपर्ने फिराद पत्रमा उल्लेख गरेकी छिन् ।