‘पोइ पर्‍यो काले २’को घोषणामा निर्माताको आपत्ति



काठमाडौँ । पछिल्लो समय चलचित्रको सिक्वेल बनाउने लहर चलेको छ । यस्तैमा केही दिन पहिले चलचित्र ‘पोई पर्‍यो काले’को सिक्वेल पोई पर्‍यो काले २’निर्माण घोषणा भएको थियो । चलचित्रका निर्देशक शिशिर राणाले चलचित्र निर्माण घोषणा गरेका थिए ।

राणाले अभिनेता दिक्पाल कार्कीसँग अभिनय सम्झौता गर्दै ‘पोइ प-यो काले २’ घोषणा गरेको विषयमा पहिलो सिक्वेल अर्थात चलचित्र ‘पाई पर्‍यो काले’का निर्माता किरण नेपालीले आपत्ति जनाएका छन् । नेपालीले आफ्नो अनुमती बिना राणाले आफूखुसी चलचित्र निर्माण घोषणा गरेर कलाकार समेत अनुबन्धित गरेको आरोप समेत लगाएका छन् ।

‘पोई पर्‍यो काले’ का निर्माता म हुँ र चलचित्र मेरो निर्माण ब्यानरमा बनेको हो’ निर्माता नेपालीले भने ‘निर्देशक राणालाई त्यसरी चलचित्रको सिक्वेल निर्माण घोषणा गर्ने अधिकार नै छैन ।’

निर्माता नेपालीले सिक्वेल निर्माण घोषणा बिषयमा निर्देशक राणासँग सल्लाह नभएको र निर्देशक शिशिर र नायक दिक्पालको इच्छाले घोषणा गरेको बताए । उनले चलचित्रको आधिकारीक सिक्वेल बन्ने घोषणा गर्ने अधिकार आफूसँग बाहेक अरुसँग नरहेको समेत दाबी गरे ।

‘म अहिले चलचित्र ‘२ नम्बरी’ र अर्काे एक प्रोजेट निर्माण गर्दैछु’ किरणले थपे ‘पोइ पर्‍यो काले’को सिक्वेल २ बर्षपछि म बनाउँछु । त्यसको नाम ‘पोइ पर्यो बुढो’ हुनेछ । चलचित्र ‘पोइ पर्यो काले २’निर्माण घोषणाको विषयमा निर्देशक शिशिर राणासँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन भने सकेन ।

गतवर्ष कार्तिकमा प्रदर्शनमा आएको ‘पोइ पर्यो काले’ शिशिर राणाको निर्देशन र किरण नेपालीको निर्माणमा बनेको थियो । चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, राजाराम पौडेल, गोपाल ढकाल(छन्दे), शिशिर राणा लगायतको अभिनय रहेको थियो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.