नीफ महोत्सवमा ३१ देशका ६३ फिल्म प्रतिस्पर्धामा



काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष ३१ देश ६३ वटा चलचित्रहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष नियमित रुपमा महोत्सवको आयोजना गर्दै आएको छ ।

आयोजक संस्थाका अध्यक्ष केपी पाठकले एक बिज्ञप्ती जारी गर्दै महोत्सवका लागि विश्वका विभिन्न ५२ देशबाट ४ सय ५० चलचित्र प्राप्त भएको जनाएको छ । कोरोनाको महामारीमा आफुलाई विश्वास गरेर चलचित्र पठाउनु हुने संसारका चलचित्रकर्मीलाई समेत आभार ब्यक्त गरिएको बिज्ञप्तीमा आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई महोत्सवमा प्रस्तिस्पर्धाको लागि छनौट गरिएको भनिएको छ ।

महोत्सवका लागि केही विशेष उत्कृष्ट र विषय प्रधान चलचित्रहरु पनि प्राप्त भएका छन् । ति चलचित्र अप्रतियोगी हुने गरी प्रदर्शन नगर्न सकिने जानकारी गराइएको छ । महोत्सव २०७८ बैशाख २३ देखि २७ सम्म काठमाडौं आयोजना हुनेछ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै क्याटगोरीमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने पनि विज्ञप्तीमा उल्लेख छ ।

कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ । यसैगरि, सर्वोत्कृष्ट बृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको वाग्मती अवार्ड यथावत रुपमा प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख , उत्कृष्ट सर्ट फिल्मलाई नगद ५०हजार प्रदान गरिने छ ।