निर्देशक घिमिरेले गरे लाईटम्यानहरुको पारिश्रमिक बढाउने घोषणा



काठमाडौं। पछिल्लो समय नेपालमा नेपाली गीतका म्युजिक भिडियोको निर्माण क्रम ह्वात्तै बढेको छ । एक दिन दुई दर्जनभन्दा बढी म्युजिक भिडियो यूट्युबमा अपलोड गरिएको तथ्यांक समेत सार्वजनिक भइसकेको छ ।

अहिले दिनमै आधा दर्जनभन्दा बढी म्युजिक भिडियोको छायांकन कुनै न कुनै लोकेशनमा भैरहेकै हुन्छ । अझ शनिवारको दिन म्युजिक भिडियोको छायांकनको संख्या अझ बढ्छ । यद्यपि, भिडियोमा अभिनय गर्ने कलाकारहरुको पारिश्रमिक चर्को भैरहँदा पर्दा पछाडि काम गर्ने प्राविधिकहरुको पारिश्रमिकमा भने खासै वृद्धि भएको छैन ।

यही यथार्थलाई चिर्दै वरिष्ठ दृष्य सम्पादक तथा भिडियो निर्देशन निशान घिमिरे (कश्यप) ले शनिवार आफ्नो यूनिटमा काम गर्ने प्राविधिकहरु (लाइटम्यान) को पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका छन् । प्रोडक्सन म्यानेजर दिपेन गौतमको अनुसार घिमिरेको टिममा मात्र नभई अब सबै टिममा कम गर्दा लाइट म्यानहरुको पारिश्रमिक बढ्ने छ।

शनिवार फेसबुकमा एउटा स्टाटस लेख्दै निर्देशक घिमिरले हालसम्म एउटा भिडियोको छायांकन (एक दिन) बाट दुई हजार रुपैयाँ पारिश्रमिक पाइरहेका लाइटम्यानहरुको पारिश्रमिकमा एक हजार रुपैयाँ थपेर तीन हजार रुपैयाँ पुर्‍याइएको जानकारी गराएका छन् ।
निर्देशक घिमिरेले शनिवार नै छायांकन भएको एउटा म्युजिक भिडियोबाट उक्त बढेको पारिश्रमिक लाइटम्यानहरुलाई उपलब्ध गराइसकेको बताएका छन् ।

‘एउटै म्युजिक भिडियोमा एकै दिन समय दिएको कलाकारको पारिश्रमिक लाखौं पुगिसक्यो, उनीहरुकै अनुहारमा प्रकाश छर्ने हाम्रो प्राविधिकहरु भने १५ सय– दुई हजार रुपैयाँभन्दा बढी पाउँदै पाएनन् । त्यसैले सबै निर्माता–निर्देशकहरुलाई प्रेरणा मिलोस् भन्ने उदेश्यले मैले नै यो पारिश्रमिक बढाउने कार्यको थालनी गरेको छु । कतिपयले मेरो स्टाटस देखेपछि ‘हाम्रै थाप्लोमा त पर्ने होला रु’ भन्ने जिज्ञासा राखेका छन् । मैले ‘मेरै पारिश्रमिक कटाएर भए पनि उनीहरुको मुहारमा खुशी छर्नेछु भनिदिएको छु ।’

निर्देशक घिमिरका अनुसार स्पटमा खटिएर काम गर्ने प्राविधिकहरुको पारिश्रमिकका थोरै वृद्धि गर्दा समेत उनीहरु खुशी हुन्छन् , थप उत्साहित भएर काम गर्छ, गुणस्तरीय परिणाम आउँछ भने किन नगर्ने भन्ने सोचेर यो निर्णय गरिएको हो ।

निर्देशक घिमिरेले पछिल्लो समय छायांकानका अधिकांशका उपकरणहरु आफैंले किनेका छन् भने उनी स्वयं सिद्धहस्त भिजुअल एडिटर भएकाले सात वर्षअघिको रेटमा गुणस्तरीय भिडियो निर्माण गरिरहेको दावी गर्छन् । निर्देशक घिमिरको अनुसार लाइटम्यानहरु छायांकारको नेतृत्वमा काम गर्छन् । उनीहरुलाई छायांकार नै पारिश्रमिक उपलब्ध गराउने हो ।

छायांकारलाई भने भिडियोका निर्देशक अथवा निर्माताले पारिश्रमिक उपलब्ध गराउँछन् । निर्देशक घिमिरेसंग यतिबेला छायांकार उत्सव दाहाल तथा उनका लाइट म्यानहरुको समुहले काम गरिरहेको छ । एउटा भिडियोमा सामान्यतया चारदेखि पाँच जना लाइट म्यानहरु सक्रिय हुन्छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.