प्रणय दिवसमा डा. डि आरले ल्याए कफी लभ



काठमाडौं। गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डि आर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । आइतबार प्रणय दिवसको अबसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा सो प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले यो पुस्तकको सँयुक्त बिमोचन गरे ।

कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अबरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ । देहरादुनका दुन विश्वविधालयमा भेटिएका पाँच जना नेपाली विधार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ ।

पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अबस्था यसले छर्लङ्ग पारेका बताए । गीत लेखनबाट कृतिमानी कायम गरेका डा. उपाध्ययको उपन्यास पनि त्यत्तिकै पठनीय भएको भनाई उनले सो कार्यक्रममा राखे । अग्रज आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । समकालिन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाई जस्तो लाग्ने र पौढ पुस्ताले आफ्ना कलेजका दिनहरु स्मरण गर्ने पनि उनले बताए ।

आख्यानकार डि. आर उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवा युवतीहरुको सँगतमा रही उनहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए । यो पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको र सबै पुस्ता एवम् बर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए ।
यो पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतिय पुरुषमा लेखिएको यो उपन्यास सम्बाद शैलीको भएको बताए । उपन्यास पढ्न थालेपछि उपन्यास भित्रका पात्रहरुको यात्रा र उनीहरुबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने बताए ।

यस्तै सँगीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरु उपन्यास भन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए । पुस्तक पढ्दा आफुलाई एउटा सफल चलचित्र हेरेको महसुस उनले सुनाए । गायक तथा संगीतकार सागर सरद अधिकारीले कार्यक्रममा अतिथिलाई स्वागत गर्दै राम्रा गीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए ।

पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दा आधा उमेरमा झरेर आख्यानकार डि आर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए । घटना, स्थान, परिवेश र सम्बादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथा हो जस्तो लाग्ने पनि उनले बताए ।

प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् । २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ ।