‘सत्यम्’ मा पल शाहको प्रवेश, भर्चुअल अडिसन आह्वान



काठमाण्डौ। शंकर कार्कीले निर्देशन गर्न लागेको फिल्म ‘सत्यम्’ मा कलाकारको लाइनअप बलियो बन्दै गएको छ । फिल्मका लागि अभिनेताद्वय राजेश हमाल र अनुप विक्रम शाही यसअघि नै फाइनल भइसकेका थिए । अब यो फिल्ममा अहिलेका हटकेक अभिनेता पल शाहको पनि प्रवेश भएको छ । कथावस्तु र आफ्नो भूमिका मन परेपछि उनले फिल्म साइन गरेको निर्माता रेशम सापकोटाले जानकारी दिएका छन् ।

राजेश हमाललाई आफ्नो आदर्श मान्ने गरेका पलले पहिलो पटक हमालसँग फिल्ममा स्क्रिन शेयर गर्न लागेका हुन् । अनुपसँग पनि उनको पहिलो सहकार्य हो । पहिलो पटक राजेश हमालसँग स्क्रिन शेयर गर्न उनी उत्साहित देखिएका छन् । तीन अभिनेतालाई एकसाथ पर्दामा हेर्न दर्शकलाई पनि निकै रोचक हुने देखिन्छ ।
कथाको माग अनुसार फिल्ममा पललाई अनुबन्ध गरेको निर्माता सापकोटाले बताए । उनले फिल्ममा पलको भूमिका भने खुलाउन चाहेनन् । फिल्मलाई उत्कृष्ट बनाउन कलाकारको टिम बलियो बनाउन लागेको उनको भनाई छ । फिल्मको एशोसियट निर्मातामा श्याम मल्ल र गणेश पौडेल रहेका छन् ।

भर्चुअल अडिसन आह्वानः
एक्सन जनरामा निर्माण हुन लागेको ‘सत्यम्’ का लागि निर्माण टिमले अडिसनबाट पनि कलाकार छनोट गर्दैछ । यसका लागि काठमाडौं र पोखरामा अडिसन भइसकेको छ, जसमा कूल ५ सय २३ जनाले सहभागिता जनाएका थिए । अब निर्माण टिमले भर्चुअल अडिसन आह्वान गरेको छ । भर्चुअलमा नेपालसँगै विदेशबाट पनि अडिसन दिन सक्ने निर्देशक कार्कीले जानकारी दिए ।

भर्चुअल अडिसनमा सहभागी हुन चाहनेले २ मिनेटको आफ्नो अभिनय अथवा नृत्य कलाको भिडियो फेब्रअरी २१ सम्म ह्वाट्सएप नंबर +9779856030308, +9779851009802 अथवा ईमेल ठेगाना navayug.renisha@gmail.com मा पठाउनुपर्नेछ । यसको नतिजा एक महिनाभित्र आउने र भर्चुअल अडिसनबाट छनोट भएपछि लुक्स टेस्ट र अन्तर्वार्ता हुने निर्माता सापकोटाले बताए । फिजिकल अडिसनमा जस्तै सहभागिता भर्चुअलमा पनि हुनेमा निर्माण टिम विश्वस्त छ ।

रेशम गौतम र कृष्ण अधिकारी सह-निर्माता रहेको ‘सत्यम्’ मा कुटुम्ब ब्याण्डले थिम संगीत तथा ब्याकग्राउण्ड स्कोर दिनेछ । फिल्मका गीतमा योगेश काजीको संगीत र गणेश पौडेलले सहायक संगीत श्रृजना रहनेछ । दुई गीतमा रेशम सापकोटा र एक गीतमा बिष्णु निरिशको शब्द रचना रहेको छ । फिल्मको डिओपीमा बिदुर पाण्डे ‘नबिन’, प्रडक्शन हेड दिनेश प्रकाश महरा, प्रडक्शन म्यानेजर प्रकाश हमाल, एशोसियट निर्देशक सुबास सुबेदी, सह निर्देशकहरु राम कुमार श्रेष्ठ र शान्ती तामांग रहनेछन् । कस्टयूम डिजाईन जानकी कडायतको रहेको छ भने अष्ट मान महर्जनको द्वन्द्व रहनेछ ।