चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा आउने



काठमाडौं । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ आउँदो वर्ष २०७८ को दशैंमा प्रदर्शन हुने भएको छ । हालै चलचित्रको छायांकन सकिएसँगै निर्माण टिमले आउँदो वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको हो ।

निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको बताए । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ । निर्माता वंशलले छायांकन सकिएको र परिस्थिति सामान्यतर्फ फर्किँदै गरेको हुनाले प्रदर्शन मिति तय गरिएको बताए । ‘यसवर्षको दशैंमा प्रदर्शन गर्ने सोचका साथ फिल्मको छायांकन शुरु गरेका थियौं, तर कोरोना महामारीका कारण सम्भव भएन । अब आउँदो वर्ष दशैंमा प्रदर्शन गर्छौ ।’ उनले भने ।

चलचित्रको कथा दशैंको परिवेशसँग जोडिएको हुनाले प्रदर्शनका लागि दशैंलाई नै रोज्नुपरेको निर्देशक नारायण रायमाझीले बताए । उनले फिल्मको विषयवस्तुले दर्शकको मन छुने बताए । ‘हामीले यसपटक अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तुलाई केन्द्रमा राखेका छौँ । जुन विषयवस्तुलाई दर्शकले रुचाउनुहुनेछ’ निर्देशक रायमाझीले भने ।

नारायण इन्टरनेशनल प्रालिको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले संयुक्त रुपमा फिल्म निर्माण गरेका हुन् । चलचित्रको कथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रहेका गीतकार रमेश विजीले तयार पारेका हुन् ।

चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ । लोकगायक प्रकाश यसै चलचित्रमार्फत अभिनेताको रुपमा डेब्यू गर्दै छन् ।

यसअघि दर्शकका लागि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी र निर्माता वंशलको ‘परदेशी–२’ तेस्रो फिल्म हो । सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ ।

सेलिब्रेटी नेपालले निर्माण गर्ने चलचित्र’चिलगाडी’पनि दशैंमा प्रदर्शनमा आउने घोषणा यस अघि नै गरिसकेको छ।