हल खुल्यो दर्शक शुन्य,दर्शक अब कसरी फर्काउने ?



काठमाडौँ । कोरोनाका कारण बन्द भएका धेरै सिनेमा हल अहिले खुलेका छन् । विगत ९ महिनादेखि बन्द रहेका सिनेमा हल चलचित्र सङ्घले विभिन्न आन्दोलनको घोषणा गर्दै गत १० गतेबाट सञ्चालनमा ल्याएको हो ।

चलचित्र सङ्घको एकलौटी निर्णयबाट खुलेका हल केही समयपछि नेपाल सरकारले स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड पालना गर्नेगरी हल सञ्चालन गर्न दिने निर्णय समेत गर्यो ।

हल खुले पनि कोरोनाको कहर यथावत् रहेका कारण दर्शक अभाव देखिने भन्दै प्रदर्शनको सुरुमा पुराना दुई चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’बाट गरियो । लकडाउन अगाडि यी दुइ चलचित्र प्रदर्शनमा भएका कारण यी दुइ चलचित्र लाई पुन प्रदर्शनमा ल्याइएको हो । यी दुवै चलचित्र हेर्न दर्शक आएनन् ।

पुरानो चलचित्र भएर होला दर्शक आएनन् । नयाँ चलचित्र रिलिज गर्न सकियो भने दर्शक आउँछन् । धेरैको तर्क एउटै थियो । दर्शक देखिएको अवस्था नयाँ चलचित्र किन दिने, आफ्नो चलचित्र दिएर जोखिम कसले उठाउने ? यस्तै प्रश्न उठिरहेको समयमा पुराना अभिनेता शिव श्रेष्ठले आफ्नो चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ दिएर जोखिम मोले । दर्शक फर्काउन आफूले चुनौतीको सामना गरेको भन्दैै शिवले रिलिज गरेको नयाँ चलचित्रमा पनि दर्शक देखिएन् ।

नयाँ चलचित्र रिलिज हुँदा पनि दर्शक हलमा नदेखिएपछि अब नयाँ चलचित्र कसले दिने ? भन्ने प्रश्न चलचित्रकर्मीमाझ खडा भएको छ । दर्शक अब कसरी फर्काउने भन्ने चिन्ताले चलचित्र प्रदर्शक, निर्माता, वितरक, कलाकार,चलचित्र पत्रकार लगायत सबैलाई सताएको छ ।