निर्माताले संचालन गरेको ‘मःम मज्जा’ उद्घाटनमा पुगे प्रदीप खड्का



काठमाडौँ। अभिनेता प्रदीप खड्काले नयाँ बानेश्वर चोकमा सञ्चालनमा आएको ‘मःम मज्जा’ को पहिलो आउटलेटको उद्घाटन गरेका छन् । बिहीवार एक कार्यक्रमका बीच उनले रिवन काटेर ‘मःम मज्जा : स्वाद घरको’ को उद्घाटन गरेका हुन् । ‘सानो मन र के घर के डेरा’ चलचित्रका निर्माता शरद श्रेष्ठको टिमले यो आउटलेट सञ्चालनमा ल्याएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदीपले नेपालमा मःमलाई ब्रान्डको रुपमा स्थापित गर्न ‘मःम मज्जा’ ले मद्दत गर्ने बताए । ‘कफीको चेन भनेझैँ मःमलाई पनि ब्रान्डको रुपमा स्थापित गर्न जरुरी छ । हामीले नेपाली उत्पादनलाई प्राथमकिता दिनुपर्छ,’ उनले भने, ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष मध्यनजर गरिएको छ । ग्राहकले अर्गानिक मःमको स्वाद पाउनुहुनेछ ।’

ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मःम मज्जा’ मा आफू आबद्ध भएको उनले बताए । उनी आफू पनि मःमको पारखी रहेको बताउँछन् । ‘लकडाउनमा मःम खाँदा खाँदा अहिले त्यो घटाउँदैछु । साँधेको मःम विशेष मन पर्छ । भोक लागेको बेला डेढ दुई प्लेट मःम त खान्छु,’ उनले भने । घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको पनि उनले बताए ।

त्यस्तै, सञ्चालक शरद श्रेष्ठले ग्राहकको स्वास्थ्य र स्वादलाई मध्यनजर गरेर ‘मःम मज्जा’ को सुरुवात गरेको बताए । ‘ग्राहकलाई घरको स्वाद दिनका लागि हामीले ‘मःम मज्जा’ को आउटलेट सुरु गरेका हौं । हामीले मःममा एमएसजी र अजिनो मोटो केही पनि प्रयोग गरेका छैनौं,’ उनले भने । चाँडै बसन्तपुरमा ‘मःम मज्जा’ को दोस्रो आउटलेट सञ्चालनमा आउने उनले जानकारी दिए ।

बसन्तपुरको आउटलेट पनि प्रदीपले नै उद्घाटन गर्ने कार्यक्रम छ । एक वर्षभित्र देशका १० शहरमा ‘मःम मज्जा’ को आउटलेट सञ्चालन गर्ने तयारीमा शरदको टिम छ । सञ्चालक श्रेष्ठ चलचित्र निर्माण र व्यवसायलाई एकसाथ लैजाने सोचमा छन् । स्थिति सामान्य भएपछि उनले निर्माण गर्ने चलचित्र ‘के घर के डेरा’ को छायांकन सुरु हुँदैछ । चलचित्रलाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् ।