‘हल खोल्ने विषयको टुंगो छिट्टै लाग्छ’ बोर्ड अध्यक्ष दाहाल



काठमाडौँ। चलचित्र संघले हिजो सोमवार पत्रकार सम्मेलनको आयोजना गरी पुस १० बाट हल खोल्ने एकतर्फी निर्णय गर्‍यो । संघले सरकारी पक्षसँग ७ महिनादेखि विभिन्न माग राखेपनि कुनै सुनुवाइ नभएको भन्दै जस्तोसुकै परिस्थितिको सामना गरेर भएपनि अब हल खोलेरै छाड्ने निर्णय गरको थियो ।

संघको यो निर्णयपछि सरकारी पक्षले मुख खोलेको थिएन । आज एक कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले एकदुई दिनमै हल खोल्ने विषयमा टुंगो लाग्ने बताएका छन् । चलचित्र ‘माया बस्छ कि के हो’ ले आयोजना गरेको पत्रकार सम्मेलनको प्रमुख अतिथि बनेका अध्यक्ष दाहालले छिट्टै हल खोल्ने विषयमा मन्त्रिपरिषद्बाट निर्णय हुन लागेकाले चलचित्रकर्मीलाई चिन्तित नहुन समेत आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने ‘म आफैँ धेरै समयदेखि हल खोल्नुपर्छ भनेर सञ्चारमन्त्रीदेखि प्रधानमन्त्रीसम्म कुरा पुर्‍याएको हुँ’, उनले थपे, ‘अब हल खोल्नुपर्छ । हल खोल्नुको कुनै विकल्प छैन ।’

तर, हतारमा निर्णय गर्दा कतिपय कुरामा चुक्नुपर्ने भएकाले यस विषयमा गम्भीर भएर निर्णय गर्न लागिएको उनको भनाइ छ । ‘हल खोल्नुपर्छ । यस विषयमा चलचित्र संघ, चलचित्र निर्माता संघ लगायत सबैले गम्भीर भएर छलफल गरी निष्कर्ष निकाल्नुपर्छ भनेर पहिलैदेखि भनिराखेको थिएँ,’ उनले थपे, ‘कतिपय मिडियामा सरकारी पक्षबाट मागको सम्बोधन भएन । बोर्डले केही गरेन भनेर समाचार आइरहेको छ । केही ढिला भएको त हो, तर त्यसरी चासो नै नदिएको भन्न चाहिँ मिल्दैन ।’

‘सञ्चार, सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले समेत अब हल खोल्नुपर्छ भन्ने खालको कुरा गर्नुभएको छ, मैले पनि उहाँलाई यस विषयमा निर्णय लिनुपर्छ भनेको छु,’ उनले थपे, ‘म पनि चलचित्रकर्मी हो । चलचित्रकर्मीहरूका पीडा र मर्म बुझेको छु । सरकारले बल प्रयोग पक्का गर्दैन ।’