नेपाली युवा ओमराज अमेरिकाको अफ ब्रोडवे थियटरमा



काठमाडौँ। नेपाली युवा ओमराज राउतले अमेरिकाको अफ ब्रोडवे थियटरमा क्वारेन्टीनमा जीवन बचाउने १० तरिका नामको नाटकमा अभिनय गरेकाछन् । फ्रिगिड न्यू योर्क थियटर महोत्सवमा आफ्नो एकल नाटक समेत मञ्चन गरिसकेका राउतले अल्फा एनवाईसी थियटर कम्पनीको अनलाइन प्रोडक्सनमा काम गरेका हुन् ।

डोन जोलिडिसको नाटक क्वारेन्टीनमा जीवन बचाउने १० तरिकामा एलिस क्यामारोटाको निर्देशन रहेकोछ । राउतले विगत ६ बर्षदेखि न्युयोर्कमा नाटक सम्बन्धि अध्ययन र अभिनय गर्दै आएका छन् ।

राउतले न्युयोर्कको ब्रोडवे शोमा यस अगाडि पनि अभिनय गरिसकेका छन् । न्युयोर्कमा अभिनय विषयमा नै अध्ययन गरिरहेका उनले कलेजमा मात्र नभई कलेजबाहिरका थियटरहरुमा पनि अभिनय गर्दै आएका छन् । सिटी कलेज अफ न्युयोर्कमा अध्ययनरत उनी नेपालमा अभिनय र पब्लिक स्पीकिङमा डिप्लोमा गरेका थिए ।

उनले गतबर्ष एलिस क्यामारोटाको अभिनय रहेको लाइसिसट्राटा नामको युद्धबिरोधी कमेडीमा प्रहरी र एकजना बुढो व्यक्तिको भूमिका निभाएका थिए । लाइसिसट्राटा नाटक एरिस्टोफानिसले लेखेको ग्रिक कमेडी थियो, जुन झण्डै २४ सय बर्ष अगाडि एथेन्समा प्रदर्शन गरिएको बताइन्छ ।

त्यस अगाडि उनले न्युयोर्कको म्यारियन एन्डरसन थियटरमा किङ लियर नाटकमा नाइट र एड्गरको भूमिकामा अभिनय गरेका थिए । त्यस्तै आवर लेडी अफ १२१ स्ट्रीट नामको नाटकमा पनि उनले गेलको भूमिकामा अभिनय गरेका थिए । यो नाटक ट्राइबेका पर्फमिङ आर्ट सेन्टर न्युयोर्कमा मञ्चन भएको थियो । बीएमसीसी थियटर हलमा अ मिडसमर्स नाइट ड्रिममा अभिनय गरेका उनले भारतको अन्तर्राष्ट्रिय कलकत्ता थियटर महोत्सवमा अ नाइट वीथ माओ नाटकमा अभिनय गरेका थिए ।

उनले उक्त महोत्सवमा बेष्ट प्ले अवार्ड समेत प्राप्त गरेका थिए । त्यसअगाडि उनले नेपालमा कथा देश नामको नाटकमा पनि अभिनय गरेका थिए ।

राउत नेपालमा पनि आफुलाई सुहाउने काम मिलेमा आयर गर्ने योजनामा रहेको बताउछन्। नेपाली कलाकारिता र नेपाली माटोको माया भनेको बिस्वको जुन कुनामा पुगे पनि रही रहने उनि बताउछन्।