पाल्पा – एक साताको छायाँकनपछि चलचित्र ‘परदेशी –२’ टिक पाल्पाबाट फर्किएको छ । यहि मंसिर ११ गते बिहीवारदेखि १७ गते बुधबारसम्म पाल्पाका विभिन्न स्थानमा चलचित्रको छायाँकन गरिएको थियो ।
एक साताको छायाँकन सेड्यूल लिएर पाल्पा पुगेको टिम निर्धारित सेड्युलअनुसार नै छायाँकन गरेर फर्किएको हो । पाल्पामा छायाँकनपछि चलचित्र यूनिट बिहीबार चितवन पुगेको छ । चितवनमा केही दिन छायाँकन गरिने जनकपुर जाने निर्माणपक्षको योजना रहेको स्रोतले जनाएको छ । यो चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ ।
चलचित्रको पाल्पामा माथागढी गाउँपालिको झडेवा देवगीर, कसेनी, सराई लगायतका स्थानमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै छायाँकन गरिएको छ । चलचित्र छायाँकनका लागि निर्देशक नारायण रायमाझी, अभिनेता दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायत पाल्पा पुगेका थिए । पाल्पाको झडेवा वरिष्ठ गायकसमेत रहेका निर्देशक रायमाझीको गाउँ हो । रायमाझीले यसअघिका आफ्ना चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गरेका थिए । ति चलचित्र सुपरहित भएका थिए ।
रमेश विजीको कथा रहेको ‘परदेशी –२’लाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहेको छ । कोरोना महामारीका कारण यो चलचित्रको छायाँकन ८ महिनादेखि रोकिएको थियो । गायन क्षेत्रमा ख्याति कमाएका प्रकाश यसै चलचित्रमार्फत अभिनेताका रुपमा देखा पर्दैछन् ।
चलचित्रमा विभिन्न कारणले विदेशिने नेपालीहरुको कथालाई समेटेको बताईएको छ ।