‘परदेशी २’को सुटिङ पाल्पामा हुँदै



पाल्पा। चलचित्र ‘परदेशी २’को सुटिङ अहिले पाल्पामा भईरहेको छ । कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको चलचित्रको छायाँकन गत बिहीवारदेखि पाल्पामा शुरु गरिएको हो । बिहीवार पाल्पाको माथागढी –४ झडेवा देवगीर पुगेको सुटिङ यूनिटलाई स्थानीयबासीले स्वागत गरेका थिए । झडेवा यस चलचित्रका निर्देशक नारायण रायमाझीको गाउँ हो ।

स्थानीयको स्वागतपछि बिहीवार देवगीरमै चलचित्रको सुटिङ गरिएको थियो । बिहीवार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो ।
बिहीवार र शुक्रबार दुई दिन आफ्नो दृश्य सकेर दीलिप काठमाडौं फर्किसकेका छन् । चलचित्रका अभिनेता प्रकाश सपूत, प्रशान्त तामाङ्, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारहरु सुटिङका क्रममा पाल्पा पुगेका छन् । माथागढीको झडेवा, कसेनी लगायतका स्थानमा चलचित्रको सुटिङ भएको निर्माणपक्षले जनाएको छ । निर्देशक रायमाझीले १७ गतेसम्म पाल्पामा छायाँकन गरिने जानकारी दिए ।
कोरोना महामारीका कारण चलचित्रको छायाँकन लामो समयदेखि रोकिएको थियो । लकडाउनअघि ७० प्रतिशत बढी छायाँकन सकिएको चलचित्रको अहिले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर बाँकी छायाँकन गरिएको हो ।

रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहेको छ । गायक क्षेत्रमा ख्याति कमाएका प्रकाश यसै चलचित्रमार्फत अभिनेताका रुपमा देखा पर्दैछन् । नारायण रायमाझीले निर्देशन गरेका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भएका थिए । उनले आफूले बनाउने चलचित्रको छायाँकन पाल्पामा पनि गर्दै आएका छन् । यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गरिएको थियो ।