मोडल मुना गौचन म्युजिक भिडियो मार्फत कमब्याक गर्दै



काठमाडौँ। ‘फेस अफ क्लासिक डायमण्ड २०१७’ र ‘मिस इको नेपाल २०१९’ विजेता मुना गौचन ‘आकाशै को’ बोलको गीतको म्युजिक भिडियो मार्फत कमब्याक गर्दैछिन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको यस भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । भिडियो कार्तिक २४ गते ट्री इन्टरटेन्मेन्टकै युट्युब च्यानल मार्फत रिलिज गरिनेछ । उक्त गीतमा बिश्व नेपाली र अस्मिता परियारको स्वर, आनन्द राईको संगीत, गोपाल रसाईलीको संगीत संयोजन र डा. राजु बाबु श्रेष्ठको शब्द रचना रहेको छ । भिडियोमा मुनासंग रोचक जोशी पनि देखिदैछन् ।

‘एम एण्ड एस’ म्यागजिन मार्फत सन् २०१५ मा मोडलिङ सुरुवात गरेकी मुनाले ‘टिजीआईएफ फेसन विक २०१६’ मा पनि सहभागिता जनाएकी थिईन् । अन्य धेरै म्यागजिनको लागि कभर फोटोशुट गरिसकेकी मुनाले एनसेल को विज्ञापन मार्फत डेब्यु गरेकी थिईन् । त्यसपछि उनले ‘नेपाल आइस’ लगायतका दर्जनौ विज्ञापन खेलीसकेकी छिन् भने भारतमा पनि ल्याक्मे, लोरियर, अमेजन लगायतका विज्ञापनमा अभिनय गरेकी छिन् । गएको मार्चमा उनी ‘रंग लगाया तुने’ बोलको हिन्दि गीतको भिडियोमा पनि देखिएकी थिईन् ।

‘चपली हाइट २’, ‘जालो’ लगायतका फिल्ममा पनि कुशल अभिनय क्षमता प्रस्तुत गरिसकेकी मुना कोभिड १९ महामारी पछि नेपाल फर्केकी हुन् । फर्किए लगत्तै उनी ‘आकाशै को’ भिडियोमा आबद्ध भएर कमब्याक गरेकी हुन् । हाल उनी केहि विज्ञापनहरुमा व्यस्त छिन् साथै केहि फिल्मका स्क्रिप्टहरु पनि पढिरहेकी छिन् ।