‘परदेशी-२’को छायाँकन शुरु गर्ने तयारी


-चलचित्र शुभमूहुर्तको तस्वीर

काठमाडौं । लकडाउनका कारण रोकिएको चलचित्र ‘परदेशी २’को छायाँकन शुरु गर्ने तयारी थालिएको छ ।

चलचित्रका निर्देशक नारायण रायमाझीले चलचित्रको छायाँकनका लागि वर्कशप शुरु गरिएको र एक सातापछि छायाँकन सुरु गर्ने तयारी थालिएको जानकारी दिए । मंगलबार सेलिब्रेटी नेपालसंग कुरा गर्दै उनले भने, ‘आजदेखि वर्कशप शुरु गरेका छौं । सरकारले अनुमति दिए १७/१८ गतेदेखि छायाँकनमा जाने गरि तयारी थालेका छौं ।’

चलचित्रको ७० प्रतिशत छायांकन लकडाउन अगाडि सकिएको थियो । अब चलचित्रको कथा परिवर्तन गरेर छायाँकन गरिने निर्देशक रायमाझीले बताए । उनले भने ‘अहिलेको परिस्थितिलाई समेटनका लागि कथामा धेरै परिवर्तन गरिएको छ ।’

लकडाउनअघि चलचित्रको छायाँकन पोखरामा गरिएको थियो । अबको छायाँकन केही काठमाडौं, पाल्पासंगै विदेशमा रहेको रायमाझीले बताए । विदेशमा तत्काल सम्भव छैन, नेपालको छायाँकन पनि कहाँबाट शुरु गर्ने फाइनल भईनसकेको रायमाझीले बताए । रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् ।

दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, गायक प्रकाश सपूत, केकी अधिकारी, वर्षा शिवाकोटी, प्रकाशका भाई देबेन्द्र बब्लु लगायतका कलाकारको भूमिका रहने चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने तयारीका साथ छायाँकन शुरु गरिएको थियो । तर, कोरोना भाइरसका कारण यो संभव हुन सकेन ।

कोरोनाका कारण रोकिएका अन्य चलचित्रले पनि अहिले छायाँकन शुरु गर्न थालेका छन् । चलचित्र ‘ए मेरो हजुर ४’ले आउँदो शुक्रबारदेखि छायाँकन शुरु गर्ने जनाएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.