चर्चित भारतीय टेलिश्रृङ्खला ‘बालिका बधु’ का निर्देशक ठेलामा तरकारी बेच्दै



एजेन्सी। कोरोनाभाइरसको कहर संसारभरी फैलिएको छ । यो महामारीका कारण लाखौं मानिसहरुको गाँस–बाँस–कपासमा संकट निम्तिएको छ । यसले कुनै क्षेत्र, व्यवसाय, जाती, वर्गलाई नछोएको भन्ने नै छैन । छिमेकी देश भारतको कुरा गर्नुपर्दा फिल्म र टिभी इन्डष्ट्रिलाई पनि कोरोना महामारीले असाध्यै धेरै प्रभावित पारेको छ । यो क्षेत्रसँग जोडिएका थुप्रै मानिसहरुको अगाडि आर्थिक संकट उत्पन्न भएको छ ।

थुप्रै टिभी सिरियल र फिल्मलाई निर्देशन गर्ने निर्देशक रामवृक्ष गौड ठेलामा तरकारी बेच्न बाध्य भएका छन् । निर्देशक रामवृक्ष हाल उत्तर प्रदेशको आजमगढमा आफ्नो घरमा छन् । रामवृक्षले आफ्नो परिवारको पेट पाल्नका लागि यस्तो काम गरिरहेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

निर्देशक रामवृक्ष गौडले रियल लाइफ र रिल लाइफ नितान्त रुपमा फरक हुने भारतीय सञ्चार माध्यमलाई बताएका छन् । उनी आफ्ना सन्तानलाई परीक्षा दिलाउनका लागि गृह जनपद आजमगढ आएका थिए । त्यतिबेलासम्म कोरोनाका कारण लकडाउन भयो । विमान र रेल सेवा बन्द भए ।

रामवृक्षले यशपाल शर्मा, मिलिन्द गुणाजी, राजपाल यादव, रणदीप हुडा, सुनिल शेट्टीजस्ता ठूला कलाकारको फिल्ममा सहायक निर्देशकको रुपमा पनि काम गरे । उनको फिल्मी उद्योगमा २२ वर्षको अनुभव छ ।

आजमगढ जिल्लाको निजामाबाद इलाकाको फराहाबाद निवासी रामवृक्ष सन् २००२ मा आफ्नो साथीको मद्दतले मुम्बई पुगेका थिए । उनले फिल्म इन्डष्टिमा आफूलाई स्थापित गर्नका लागि निकै मिहिनेत गरे । रामवृक्षले सुरुमा बिजुली विभागमा काम गरे, त्यसपछि टिभी प्रोडक्सनमा आए । अनुभव बढ्दै गएपछि निर्देशनको मौका पाए । तर कोरोनाको मारले यो क्षेत्रलाई यति प्रभावित पार्यो कि आज आफ्नो परिवारको पेट पाल्नका लागि उनले ठेलामा घुमीघुमी तरकारी बेच्नु परिरहेको छ ।