अवस्था सामान्य भएलगत्तै चलचित्र खेल्लान त राजेश ?


                                         भन्छन्, ‘केही चलचित्रको स्क्रिप्ट पढिरहेको छु’

काठमाडौं । अभिनेता राजेश हमाललाई दर्शकले चलचित्रको पर्दामा नदेखेको केही वर्ष भयो । २०७३ सालमा प्रदर्शनमा आएको ‘सकुन्तला’पछि राजेशले नयाँ चलचित्रमा काम गरेका छैनन् । राजेशले नयाँ चलचित्रमा कहिले काम गर्ने हुन ? चलचित्रकर्मी तथा दर्शकमा चासो छ ।

उनै अभिनेताले छिट्टै नयाँ चलचित्रमा काम गर्ने संकेत दिएका छन् । कोरोना संक्रमणकोअसामान्य अवस्थामा पनि आफूलाई थुप्रै चलचित्रको स्क्रिप्ट आएको र अहिले केही स्क्रिप्ट पढिरहेको राजेशले बताए । शनिबार चलचित्र प्राविधिकहरुलाई सहयोग हस्तान्तरण गर्दै हमालले भने, ‘यस्तो अवस्थामा पनि स्क्रिप्टहरु आईरहेको छ । निर्माताहरु त्यति हतोत्साही हुनुहुँदो रहेनछ भन्ने लाग्यो ।’ उनले अगाडि भने, ‘निर्माताहरुले अवस्था सामान्य भएपछि काम गर्नुपर्छ भन्नुभएको छ । त्यसैले  अहिले २–४ वटा स्क्रिप्ट पढिरहेको छु ।’

यो भनाईबाट बुझ्न सकिन्छ, अब नयाँ चलचित्र खेल्नुपर्छ भन्ने चाहना राजेशको छ । तर, उनलाई स्क्रिप्ट राम्रो चाहिएको छ । उसो त राजेशले केही समय अघिदेखि आफै नयाँ चलचित्र निर्देशन गर्ने तयारी समेत गरिरहेका छन् ।

के अवस्था सामान्य भएलगत्तै राजेशले नयाँ चलचित्रमा काम गर्लान  ? प्रतिक्षा गर्नुको विकल्प छैन ।