फाइटर, द्धन्द निर्देशक हुँदै निर्देशक बनेका सम्राट, ‘एक्सनमा नयाँ ट्रेण्ड भित्र्याउने सोँच छ’


  • चलचित्र क्षेत्रमा आउनुअघि उनी खेलाडी थिए
  • द्धन्द निर्देशक भएर काम गरिरहँदा उनलाई निर्देशक बन्छु भन्ने कहिल्यै लागेको थिएन्

काठमाडौं । सम्राट बस्नेत नेपाली चलचित्रमा फाइटरको रुपमा भित्रिएका थिए । डेढ दशकभन्दा अघि चलचित्र ‘अग्नीपथ’मा फाइटरको भूमिका निर्वाह गरेका थिए, सम्राटले । त्यसयता केही चलचित्रमा फाइटरको रुपमा काम गरे । अनि तामाङ चलचित्रमा द्धन्द निर्देशन गर्दै नेपाली चलचित्रको द्धन्द निर्देशनमा उनको ब्यस्तता बढ्यो । सुपारी, वीरबिक्रम, ग्याङस्टार ब्लूज, जंगे, ह्याप्पी डेज, करोडपति, ड्रिम गर्ल,जाइरा लगायत दर्जन बढी चलचित्रमा उनले द्धन्द निर्देशक भएर काम गरेका छन् ।

अहिले सम्राट निर्देशक भईसकेका छन् । उनको निर्दशनमा बलिउड अभिनेत्री सन्नी लियोनीको समेत अभिनय रहेको चलचित्र ‘पासवर्ड’ गतवर्ष प्रदर्शनमा आएको थियो ।

चलचित्र क्षेत्रमा आउनुअघि भने उनी खेल क्षेत्रमा सक्रिय थिए । आफू तेक्वान्दोको राष्ट्रिय खेलाडी भएको उनी बताउँछन् । ‘म सानो उमेरमै राष्ट्रिय खेलाडी भईसकेको थिए । अन्तराष्ट्रिय खेलहरु ‘वल्र्ड तेक्वान्दो च्याम्पियनसिप’, एसियन खेलहरुमा सहभागी भएको छु। थुप्रै गोल्ड मेडलहरु जितिसकेको छु’– आफ्नो खेल क्षेत्रबारे सुनाउँछन् ।

आफू खेल क्षेत्रमा भएकाले चलचित्रमा फाइटरको रुपमा प्रवेश गर्न सहज भएको बताउँछन् । आफू रंगशालामा खेल ट्रेनिंग गरिरहेको अवस्थामा सुटिङका लागि पुगेको चलचित्र टिमले फाइटरको रुपमा प्रस्ताव गरेको सम्राट सुनाउँछन् ।

नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्यले ‘पासवर्ड’ निर्माण भएको बताउँदै आगामी दिनमा पनि नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार विस्तारमा लागिपर्ने सम्राट बताउँछन् ।

द्धन्द निर्देशक भएर काम गरिरहँदा उनलाई निर्देशक बन्छु भन्ने लागेन् । ‘पासवर्ड’ चलचित्रको निर्देशकमा शुरुवातमा अरु नै थिए । तर, अन्तिम अवस्थामा निर्देशक उपत्यका वाहिर भएपछि निर्माताले नै यसको निर्देशनको जिम्मेवारीमा सम्राटलाई प्रस्ताव गरे । एक्सन जनराको चलचित्र भएकाले आफूले पनि निर्देशनको प्रस्ताव सहज स्वीकारेको सम्राट बताउँछन् । यसरी सम्राटले नेपाली चलचित्रमा फाइटर, द्धन्द्ध निर्देशक हुँदै निर्देशकसम्मको यात्रा तय गरे ।

आफू सधै नेपाली चलचित्रमा एक्सनमा नयाँ ट्रेन्ड भित्रयाउनेबारे सोचिरहने सम्राट बताउँछन् । जुन ट्रेन्डमा चलचित्र चलिरहेको छ, दर्शकहरु त्यसकै पछि दौडिरहेको बताउँदै आफूमा केही फरक गर्ने सोँच सधै रहिरहेको उनी बताउँछन् । नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्यले ‘पासवर्ड’ निर्माण भएको बताउँदै आगामी दिनमा पनि नेपाली चलचित्रको अन्तराष्ट्रिय बजार विस्तारमा लागिपर्ने सम्राट बताउँछन् ।

नेपाली द्धन्द्ध निर्देशकहरु पनि सक्षम रहेको बताउँदै सुरक्षा सावधानी नेपालमा नभएकाले पछि परिरहेको उनको धारणा छ ।‘अहिलेका जतिपनि द्धन्द्ध निर्देशकहरु हुनुहुँछ, उहाँहरुले राम्रो लेभलको सेप्टीहरु, राम्रो बजेटमा काम गर्नुभयो भने बलिउड लेभलको काम गर्न सक्नुहुन्छ जस्तो लाग्छ’–उनी भन्छन् । कोरोना संक्रमणले निम्याएको अहिलेको परिस्थिति सहज अवस्थामा फर्किएलगत्तै नयाँ चलचित्रको काम शुरु गर्ने उनको तयारी छ ।