सुटिङ नगर्न, नगराउन अनुरोध


-म्यूजिक भिडियो कलाकार संघका पदाधिकारी।

काठमाडौं। चैतदेखि जारी लकडाउन लुजडाउनमा परिणत भएसंगै असार र साउन महिनामा थुप्रै म्यूजिक भिडियोको छायाँकन भए। तर, विस्तारै कोरोना संक्रमितको संख्या बढ्न थालेसंगै काठमाडौंमा निषेधाज्ञा जारी भयो। निषेधाज्ञासंगै म्यूजिक भिडियोको छायाँकन रोकियो। अहिले उपत्यकामा निषेधाज्ञा छ। कोरोना संक्रमितको संख्या पनि बढिरहेको छ।

तर, यो अवस्थामा पनि केही कलाकारहरुले लुकिछिपी म्यूजिक भिडियोको छायाँकन गरिरहेका छन्। निषेधाज्ञाको अवस्थामा पनि भिडियो सुटिङका तस्वीरहरु सामाजिक सञ्जालमा राखेसंगै म्यूजिक भिडियो कलाकार संघले अहिले म्यूजिक भिडियोको सुटिङ नगर्न, नगराउन अनुरोध गरेको छ।

संघले आईतबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘कोरोना भाइरसका कारण नेपालले पनि ठूलो जनधनको क्षतिसंगै मानवीय कष्टपूर्ण जीवनयापन चलिरहेको यो विषम परिस्थितीमा सरकारले सुटिङ, पार्टी, सभा, जुलुस नगर्न निर्देशन दिएर विज्ञप्ती जारी गरेको अवस्थामा हाम्रा केही ब्यक्ति तथा समूहले सुटिङ गरेका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेको पाईएपछि संस्थालाई इंकीत गरि केही टिकाटिप्पणी आएको र हामीसंग उहाँहरुको धेरै अपेक्षा रहेको कारणले यो निषेधाज्ञाको अवस्थामा सुटिङ नगर्न र नगराउनु हुन अनुरोध गर्दछौं।’

आफूसंग आवद्ध सम्पूर्ण सदस्यलाई सरकारले दिएको निर्देशन पालन गर्न अनुरोध गर्दै यस्तो अवस्थामा पनि सुटिङ गरेको खण्डमा हुने दुर्घटनामा संस्था कुनै जवाफदेवी नहुने संघका अध्यक्ष शंकर विसी र महासचिव सुनिल लामीछानेद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।

यता, राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपालले पनि कोरोनाको संक्रमण तिव्ररुपमा फैलिरहेको कठिन समयमा प्रशाशनद्धारा जारी निषेधाज्ञाको पूर्ण पालन गर्न सबैमा अपिल गरेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.