राष्ट्रकवि घिमिरेको निधनप्रति कलाकारहरुद्वारा दुःख व्यक्त


काठमाडौं। राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति थुप्रै कलाकारहरुले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा थुप्रै कलाकारहरुले घिमिरेको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले फेसबुकमा घिमिरेसंगको तस्वीर पोष्ट गर्दै लेखेका छन्- ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे’ भनेर सम्पूर्ण नेपालीहरुलाई सतर्क गराई दिनुहुने राष्ट्रकवि श्री माधव घिमीरेज्यूको आत्माको चीर शान्तीको कामनाका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’ त्यस्तै अर्का वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले पनि घिमिरेसंगको तस्वीर पोष्ट गर्दै माथि लेखेका छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यूप्रति हार्दिक श्रद्धाञ्जली।’

त्यस्तै अभिनेत्री करिश्मा मानन्धनरले घिमिरेको निधनप्रति दुःख ब्यक्त गरेकी छिन् । हाँस्य कलाकार दीपकराज गिरीले फेसबुकमा लेखेका छन्, ‘१ सय २ वर्षको महत्वपूर्ण कालखण्डमा लोकलाग्दो योगदान दिँदै बिदा हुनुभएका साहित्य क्षेत्रका धरोहर आरदणीय राष्ट्रकवि माधवप्रसाद घिमिरे ज्यूप्रति हार्दिक श्रद्धाञ्जली।’

हास्य कलाकार सन्तोष पन्त, अभिनेता आर्यन सिग्देल, अभिनेत्री वर्षा शिवाकोटीले घिमिरेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । हाँस्य कलाकार मनोज गजुरेल, केदार घिमिरेले राष्ट्रकविले साहित्यमा पुर्याएको योगदान, सिर्जना र अनुभवलाई सधैँ सम्झिरहने उल्लेख गरेका छन् ।
चरित्र अभिनेत्री मिथिला शर्माले राष्ट्रकविसंगको तस्वीर फेसबुकमा पोष्ट गर्दै उनलाई श्रद्धाञ्जली दिएकी छिन् ।

चलचित्र क्षेत्रका अन्य थुप्रै  कलाकारहरुले राष्ट्रकविको निधनमा दुःख ब्यक्त गरिरहेका छन् । गायन क्षेत्रका कलाकारहरुले पनि उनको निधनमा दुःख व्यक्त गरिरहेका छन् ।

राष्ट्रकवि घिमिरेको मंगलबार अपरान्ह ५ः५५ बजे आफ्नै निवास काठमाडौं लैनचौरमा निधन भएको हो ।

Copyright © 2012 - 2026 | All Right Reserved.