सम्झनामा शुभद्रा


काठमाडौं। नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री शुभद्रा अधिकारीको निधन भएको एक वर्ष भएको छ । गतवर्ष साउन ३२ गते ७२ वर्षको उमेरमा उनको निधन भएको थियो ।

कलाकार शुभद्राको निधन भएको एक वर्ष पुग्दा वरिष्ठ अभिनेत्री मिथिला शर्माले सामाजिक सञ्जालमा उनलाई सम्झेकी छिन् ।

उनले शुभद्राको निधनले अभिभावकीय अभाव रहिरहने उल्लेख गरेकी छिन् । उनले शुभद्रालाई ‘नेपाली रंगमञ्च र सिने क्षेत्रमा आफ्नो सम्पूर्ण जीवननै समर्पित गरेर इतिहास रच्न सफल कलाकारिता क्षेत्रकी कुशल तथा कौशल योद्धा’ भनेकी छिन् ।

२००४ साल भदौ २० गते काठमाडौंको असनमा जन्मिएकी अधिकारी सानै उमेरदेखि कलाकारितामा लागेकी थिइन् । ’मनको बाँध’ बाट नेपाली चलचित्रमा अभिनय यात्रा थालेकी अधिकारीले सयौं नेपाली चलचित्रमा अभिनय गरेकी छिन्।

उनको चिनो, कन्यादान, भाउजू, बासुदेव, वसन्ती, बाटोमुनिको फूल, मुनामदनजस्ता चलचित्र चर्चित छन् । उनले नाटक, गीतिनाटक, टेलिफिल्ममा पनि काम गरेकी छन् । उनी पछिल्लो केही वर्षयता दम र निमोनियाको रोगी थिइन् । उनी यो संसारमा छैनिन तर उनको अभिनय दर्शकले सधै सम्झिरहेका छन् ।