सेलिब्रेटी नेपाल नवौं वर्षमा



आदरणीय पाठकहरु, आजदेखि सेलिब्रेटी नेपाल डटकमले स्थापनाको आठ वर्ष पूरा गरि नवौं वर्षमा प्रवेश गरेको छ । यो जानकारी गराउन पाउँदा हाम्रो टिम अत्यन्तै हर्षित छ । सेलिब्रेटी नेपाल डटकम नियमित पढ्ने पाठकहरु नै हाम्रो प्रेरणाका मुख्य स्रोत हुन । यस अवसरमा हामी सर्वप्रथम हाम्रा पाठकहरुप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छौं ।

त्यस्तै, सम्पूर्ण चलचित्रकर्मी, विज्ञापनदाता, सुभचिन्तकप्रति पनि हामी विशेष आभारी छौं । आजभन्दा आठ वर्षअगाडी अनलाईन सञ्चालनमा ल्याउनु सहज थिएन्, त्यो पनि मनोरञ्जन विटको । तर, हामीले असहजपछिको सुनौलो भविष्य देखेका थियौं । त्यसैले असहजता स्वीकार्दै अनलाईन संचालनमा ल्यायौं ।

शुरुवाती दिनमा समाचार संकलनका क्रममा निकै असहज परिस्थिती थियो । ‘अनलाईनमा काम गर्नेहरु पनि पत्रकार हुन र !’ अग्रज पत्रकारहरु बजारमा यसै भनेको सुन्थ्यौं । तर, ति तिता अनुभवलाई स्वीकार्दै हामी निरन्तर अगाडी बढ्यौं । आज हामी खुसी छौं । किनकी अनलाईन पत्रकारिता अहिले सञ्चारको सबैभन्दा छिटो र सशक्त माध्यम बनेको छ । हिजो ‘अनलाईनमा काम गर्नेहरु पनि पत्रकार हुन र !’ भन्ने अधिकांश अग्रज पत्रकारहरु आज अनलाईनलाई आफ्नो पत्रकारिताको माध्यम बनाएका छन् । थुप्रै अनलाईनहरु खुलेका छन् । मनोरञ्जनलाई मात्रै विट बनाएर पनि थुप्रै अनलाईनहरु सञ्चालनमा छन् । त्यसैमध्ये सेलिब्रेटी नेपाल डटकमले आफ्नो अलग्गै पहिचान स्थापित गर्न सफल भएको छ ।

सेलिब्रेटी नेपालले मनोरञ्जन क्षेत्रसँग सम्बन्धित हरेक गतिविधि/आबद्ध ब्यक्तिलाई महत्व दिँदै आएको छ । अझ मनोरञ्जन क्षेत्रमा भविष्य खोजिरहेका नव–प्रवेशी कलाकारहरुलाई हामीले विशेष स्थान दिँदै आएका छौं । समग्रमा भन्नुपर्दा नेपाली मनोरञ्जन क्षेत्रलाई अनुशासित, मर्यादित बनाउँदै यसको श्रीवृद्धि गर्नतर्फ नै हाम्रो सदैव प्रयास रहँदै आएको छ र रहनेछ पनि ।

पछिल्लो समय हामीले युट्युबलाई पनि विशेष महत्वका साथ अगाडी बढाएका छौं । युट्युब च्यानललाई हेरेर साथ दिनुहुने दर्शकहरुलाई पनि धन्यवाद दिन चाहान्छौं । आगामी दिनमा अनलाईन र युट्युब दुवैलाई थप सशक्त तरिकाले अगाडी बढाउने सोँच हामीले राखेका छौं । सम्पूर्ण पाठकहरु, दर्शकहरु तथा शुभचिन्तकहरुको सुझाव हामीलाई सधै आवश्यक छ र त्यसको अपेक्षा पनि हामी सधै राख्नेछौं । हजुरहरुको सुझाव र प्रतिक्रियाले नै हामीलाई सही मार्गमा हिँडन र अझ परिस्कृत भएर अगाडी बढ्न प्रेरित गर्नेछ ।
–सम्पादकीय