आचारसंहिता विपरित कार्य नगर्न संघको ध्यानाकर्षण



सेलिब्रेटी नेपाल,काठमाडौं। चलचित्र पत्रकार संघ, नेपालले मंगलबार एक विज्ञप्ती जारी गर्दै गत बिहिबार राति एपी वान टेलिभिजनमार्फत प्रसारित कार्यक्रम रजतटपमा समावेश नेपाली चलचित्रका अभिनेत्रीहरु लक्षित एक भिडियो सामाग्रीमा संघको ध्यानाकर्षित भएको जनाएको छ ।

संघका महासचिव समीर बलामीद्वारा जारी विज्ञप्तीमा भनिएको छ- ‘संचारको कुनै पनि माध्यमबाट पत्रकारिता गर्दा जातीय, लैंगिक, धार्मिक, क्षेत्रिय, भाषिक, शारीरिक, मानसिक र स्वास्थ्य अवस्थालाई लक्षीत गर्दै गरिने पत्रकारिता र प्रवृति निन्दनीय रहेको संघको ठम्याई छ । सामाजिक सञ्जाल तथा अन्य माध्यममा चलचित्र पत्रकारले आचारसंहिता बिपरित पत्रकारिता गरिरहेको भन्दै आलोचना भईरहँदा यसमा संघको ध्यानाकर्षण भएको हो ।’

विज्ञप्तीमा भनिएको छ- ‘चलचित्र पत्रकारिताको नाममा आचारसंहिता विपरित कुनै पनि माध्यमबाट समाचार प्रकाशन गर्ने, भिडियो सामाग्री प्रशारण गर्नेलगायतका कार्य गरेमा क्षम्य नहुने संघको ठहर छ । सोही घटनालाई लिएर अभिनेत्री पूजा शर्मामार्फत संघमा निवेदन प्राप्त भएको हुदाँ यस विषयमा संघले आफ्नो धारणा स्पष्ट पारेको छ ।’

विज्ञप्तीमा उक्त कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी यस संघको सदस्य नरहेको जानकारी गराउँदै पत्रकार आचारसंहिता विपरित गएर कसैलाई पनि पत्रकारिता गर्न छुट नरहेको संघ स्पष्ट पारेको छ । ‘अन्ततः चलचित्र पत्रकारको बदनाम हुने गरि पत्रकार आचारसंहिता विपरित गएर बद्नियतपूर्ण पत्रकारिता नगर्न संघ अनुरोध गर्दछ’, विज्ञप्तीमा भनिएको छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.