चलचित्र पत्रकार संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न



सेलिब्रेटी नेपाल, काठमाडौँ। बाढी-पहिरोमा परेर घाइते भएकाहरुका निम्ति चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । शनिबार संघले सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको छ ।

लगभग सय जनाको उपस्थितिमा सम्पन्न रक्तदानमा चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल अतिथिको रुपमा उपस्थित थिए । कोरोना महामारीमा पनि सामाजिक दुरी कायम गरेर संघले गरेको रक्तदान कार्यक्रमले राम्रो संदेश जाने उनले बताए । कार्यक्रममा निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ फोटोग्राफर विकास रौनियार,निर्देशक देवेन्द्र पाण्डे लगायत संघका कार्य समिति तथा संघका सदस्यले पनि रक्तदान गरेका थिए ।

अध्यक्ष दिनेश सिटौलाले कोरोना महामारीका बीचमा पनि राम्रो उपस्थितिका साथ रक्तदान सम्पन्न भएको जानकारी दिए । ‘अहिले देशलाई कोरोनासँगै बाढी-पहिरोले आक्रान्त पारिरहेको छ । सम्पूर्ण नेपाललाई खुलेर काम गर्न असहज भैरहेको छ । त्यैपनि ‘रक्तदान नै जीवनदान हो’ भन्ने सोचले संघले आयोजना गरेको रक्तदानमा उपस्थितिको लागि सम्पूर्णमा धन्यवाद । यसलाई समय सापेक्ष राम्रो सहभागिता मान्न सकिन्छ । सामाजिक दुरी कायम गरौँ । कोरोनाबाट बचौँ र बचाउँ ।’ संघले आगामी दिनमा पनि यस्तै किसिमको सामाजिक हित हुने कार्यक्रमहरु तर्जुमा गर्दै जाने अध्यक्ष सिटौलाले बताए ।