अभिनेता पुष्पको आज जन्मदिन, यस्तो छ उनको अभिनय यात्रा


काठमाडौं। कैलाली ठिटो पुष्प खडकाको बाल्यकालदेखिकै सपना थियो, चलचित्रको ‘हिरो’ बन्ने। चिनेजानका कोही थिएनन्, चलचित्र क्षेत्रमा। तरपनि हार खाएनन्। अनेक हण्डर–ठक्कर खाँदै आफ्नो सपनासम्म पुगे।

‘प्लस टु’ सकेर काठमाडौं आए, नृत्य सिके, सिकाउन थाले। त्यो समय राष्ट्रिय सभागृह, प्रज्ञा प्रतिष्ठान, पर्यटन बोर्ड लगायतमा हुने सांगीतिक कार्यक्रममा नृत्य प्रस्तुति दिन दिन्थे, पुष्पले। जहाँ गायक तथा कलाकारहरूको पनि प्रस्तुति हुन्थ्यो।

शुरुवातमा पुष्पले रेडबुलको विज्ञापनमा देखिने अवसर पाए। उनलाई म्युजिक भिडियो र चलचित्रमा प्रवेश गराउने व्यक्ति हुन्, स्वर्गीय निर्देशक आलोक नेम्वाङ। त्यसैले त आलोकलाई आफ्नो ‘गड फादर’ (भगवान्) बताउँछन्, पुष्प। पुष्पले अभिनय गरेको पहिलो म्युजिक भिडियो थियो, हेमन्त शर्माको ‘के माया गर्नुहुन्न र …’। यो गीत लोकप्रिय भयो। त्यसयता आलोकले नै धेरै म्युजिक भिडियोमा पुष्पलाई काम गराए।

पुष्पको टर्निङ प्वाइन्ट भने शिव परियारको ‘पिलायो साथीले’ बोलको गीत बन्यो। ‘त्यसपछि कहिल्यै काम माग्नुपरेन। म्युजिक भिडियोको क्षेत्रमा त्यो गीतलाई ‘टर्निङ प्वाइन्ट’ भन्न चाहन्छु,’ पुष्प भन्छन्। त्यसयता म्युजिक भिडियोमा पुष्पको तानातान भयो। केही म्युजिक भिडियोमा अभिनय गरेपश्चात् पुष्प आलोककै निर्देशनमा बनेको चलचित्र ‘अझै पनि’मा हिरोको साथीको भूमिकामा देखिए।

त्यसपछि भेट्रान निर्देशक तुलसी घिमिरेले पुष्पलाई हिरोको रुपमा डेब्यू गराए, ‘दर्पण छायाँ–२’मार्फत। त्यसपश्चात ‘मंगलम’मा अभिनय गरे उनले। ‘दर्पण छायाँ–२’ले अपेक्षाकृत व्यापार गर्न सकेन तर ‘मंगलम’ले पुष्पलाई एकाएक स्टार बनायो। चलचित्र सफल मात्र भएन, पुष्पको कामको खुलेरै तारिफ भयो। ‘मंगलम’बाट उत्कृष्ट नायकको राष्ट्रिय अवार्ड हात पारे। त्यसयता पुष्प अभिनित ‘दाल भात तरकारी’र ‘मारुनी’ प्रदर्शनमा आए। ‘मारुनी’बाट पनि पुष्पलाई राम्रो प्रतिक्रिया मिल्यो।  त्यसयता पुष्पले सिक्किम पुगेर चलचित्र ‘चालबाज’ को छायांकन सकाएका थिए।

आज म्युजिक भिडियोमा मात्र नभएर चलचित्रमा धेरैको रोजाइमा पर्ने अभिनेता हुन्, पुष्प। उनको नृत्यको त सधै प्रशंशा हुन्छ नै, सशक्त अभिनयबाट पनि उनले आफूलाई स्थापित बनाएका छन्।  यीनै अविवाहित अभिनेता पुष्पको आज (सोमबार) जन्मदिन हो। आजदेखि उनी ३१ वर्षमा लागेका छन्। जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालको माध्यमबाट बिहानैदेखि थुप्रै चलचित्रकर्मी तथा  शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.