दुर्गेशको ‘बिच्च बिच्चमा–३’ सार्वजनिक नहुँदै आलोचनामा, ‘केही दिन धैर्य गर्नुस्, संस्कृतिको चिन्ता हामीलाई नि छ’


काठमाडौं। गत वर्षको तीजमा गायक तथा मोडल दुर्गेश थापाको ‘बिच्च बिच्चमा’ गीत हरेक उमेर समूहको जनजीब्रोमा झुन्डिएको थियो। यस वर्षको तीज नजिकिँदै गर्दा दुर्गेशले केही दिन अगाडी ‘बिच्च बिच्चमा २’ सार्वजनिक गरे। यो गीतले औषत प्रतिक्रिया पायो।

उनै दुर्गेश अहिले ‘बिच्च बिच्चमा ३’को तयारीमा छन्। तर, यो गीत सार्वजनिक नहुँदै चर्को आलोचना भएको छ। गीतको म्युजिक भिडियोको पोष्टर सार्वजनिक भएसंगै आलोचना शुरु भएको छ। सार्वजनिक पोष्टरमा दुर्गेशसहितका कलाकार महिलाको पोशाकमा सजिएका छन्।

जुन पोष्टर दुर्गेशको फेसबुक वालमा पनि हेर्न सकिन्छ। यो पोष्टर सार्वजनिक भएलगत्तै दुर्गेशको चर्को आलोचना भएको हो। केहीले दुर्गेशले नेपाली संस्कृतिको अपमान गरेको भन्दै आलोचना गरेका छन्, त केहीले नेपाली नारीको महान पर्वलाई धज्जी उडाएको बताएका छन्।

आलोचना भएपछि दुर्गेशले यो गाईजात्रे तीज गीत भएको प्रतिक्रिया दिएका छन्। ‘कथाले मागेपछि बलिउडका सलमान खान, अजय देवगनदेखि महानायक राजेश हमालले पनि शकुन्तलाको भेष धारण गर्नुपर्छ, अडियो सुनेकै छैन, भिडियो हेरेकै छैन, पोस्टर हेरेकै भरमा गलत मूल्याङ्कन गर्नु हतारको निर्णय हुनसक्छ’ उनले फेसबुकमा लेखेका छन््, –‘केही दिन धैर्य गर्नुस्, संस्कृतिको चिन्ता हामीलाई नि छ।’

Copyright © 2012 - 2026 | All Right Reserved.