चलचित्र पत्रकार संघको लेख रचना छनोट, पत्रकार लम्सालको लेख उत्कृष्ट



सेलिब्रेटी नेपाल । चलचित्र पत्रकार संघ नेपालले आव्हान गरेको कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभावका बारेमा गरिएको लेखन प्रतियोगीतामा चार लेख छनौट गरेको छ । कुल लेखमा १३ वटा लेखलाई छनौट समितिले सर्ट लिस्ट गरेको थियो । त्यसबाट उत्कृष्ट चार छनौट गरेको हो । जसमा फिल्म पत्रकार ध्रव लम्सालको रचना उत्कृष्ट भएको छ । संघले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै सो वारेमा जानकारी दिएको हो ।

संघले चलचित्र क्षेत्रमा कोरोना भाइरसले उत्पन्न गरेको समस्या र त्यसको समाधानसहितको सोध, खोज तथा वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख, रचना तथा धारणाको नतीजा सार्वजनिक गरेको हो ।

त्यसमा पनि मापदण्ड सहित मूल्याङ्कनको आधारमा ८ लाई तय गर्दै छनौट समितिले पत्रकार लम्सालको लेखलाई पहिलो स्थानमा राखेको हो । विज्ञप्तीमा जनाइए अनुसार पत्रकार विष्णु शर्माको लेखले दोस्रो, पत्रकार मनोज न्यौपानेको लेखले तेस्रो तथा पत्रकार रिना मोक्तानको लेखले चौथो स्थान हासिल गरेको छ।

नेपाली चलचित्र क्षेत्रको वर्तमान बस्तुस्थिती र अब कसरी यो क्षेत्र सहज हुन सक्छ भन्ने संभावनाहरुलाई पनि समावेश गरि चलाइएको उक्त अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन हुने जनाएको छ ।

उत्कृष्ट ४ लाई अनुकुल समयमा क्रमश १५ हजार, १० हजार तथा पाँच–पाँच हजार रुपैयाँ तथा प्रमाण पत्र सहित प्रदान गरिने पनि संघले जनाएको छ । छनौट गरिएको लेख संचार माध्यमा प्रकाशन गरिने व्यवस्था संघले मिलाउने जनाएको छ ।

विज्ञप्तीमा जनाइ अनुसार पत्रकारहरु विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जीवन कुमार पराजुली तथा समीर बलामीको छनोट समितिले ती लेख तथा रचनाहरु मूल्यांकन गरेको संघका महासचिव समीर बलामीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।