‘चलचित्र निर्देशक’को कृषि कर्म : कुखुरा फार्ममा डेढ करोड लगानी


‘व्यवसाय राम्रो हुँदै गयो, लगानी बढाउँदै लगेँ’

रघुनाथ सापकोटा

काठमाडौं। देशमा लकडाउन लागेकै दुई महिना नाघ्यो। अझै कति लम्बिने हो, टुंगो छैन्। लकडाउनले हरेक क्षेत्र मारमा छ। चलचित्र क्षेत्र पनि अछुतो छैन्। प्रदर्शनको क्रममा रहेका चलचित्रको प्रदर्शन रोकियो। हल बन्द भए। निर्माता/निर्देशक, कलाकार, प्राविधिक बेरोजगार/फुर्सदिला भए। तर, एक चलचित्र निर्देशक जसको ब्यस्तता लकडाउनले घटाएन्। लकडाउनअघि जति व्यस्त थिए, हिजोआज पनि उत्तिकै ब्यस्त छन्। उनी हुन्, खिल बहादुर गुरुङ्। तर, खिल बहादुरलाई चलचित्रले ब्यस्त बनाएको होइन। उनलाई व्यस्त बनाएको हो, कृषि कर्मले।

काठमाडौं, तारकेश्वर –३ ठूलोगाउँमा धनमाला वनमाला अर्गानिक एग्रो फार्म छ। ५० रोपनी क्षेत्रफलमा फैलिएको त्यो उनै खिल बहादुरको फार्म हो। त्यहाँ उनले लोकल कुखुरा, कालिज, टर्की,कडकनाथ, लौकाट आदी पालेका छन्। दिनरात त्यहीँ पसिना चुहाउँदैछन् खिल बहादुर। फार्ममा पाँच कर्मचारी छन्।

लकडाउन हुँदै गर्दा खिल बहादुरलाई डर लागेको थियो। फार्ममा ४/५ हजार कुखुरा बिक्रीका लागि तयार थिए। टेलिफोन वार्तामा सुनाए, –‘एक/दुई दिन त अब के गर्ने? कसो गर्ने? कखुरा बिक्री गर्न पाइदैन् की! भनेर अन्योलमा थियौं। तर, सरकारले कृषिलाई खुला गर्यो।’ अहिले त अत्यावशेक बस्तु ढुवानी भनेर प्रहरीले गाडी नरोक्ने उनले सुनाए। पहिले जसरी बिक्री हुन्थ्यो, त्यसरी नै विक्री भईरहेको उनको भनाई छ। ‘अहिले भर्खरै पनि २ सय कुखुरा बजार पठाए। ढुवानीमा त समस्या छैन् नै, बिक्री पनि राम्रै भईरहेको छ’– उनले अगाडी थपे।

खिल बहादुरले एक वर्ष अगाडी ५/६ रोपनी जग्गा भाडामा लिएर फार्म शुरु गरेका थिए। ५ सय कुखुरा र १ सय टर्कीबाट फार्म शुरु गरेको खिल बहादुर बताउँछन्। तर, अहिले १५/१६ हजार लोकल कुखुरा छन्। २ सय टर्की, २ सय कडानाथ, २ हजार बढी कालिज पालेका छन्। जग्गाको क्षेत्रफल ५० रोपनी पुर्याएका छन्। जग्गा १० वर्षका लागि भाडामा लिएको खिल बहादुर सुनाउँछन्। भन्छन्, ‘सुरुमा ८/१० लाख लगानी गरेको थिए। तर, काम गर्दै जाँदा लोकल कुखुराको बजार राम्रो पाए। त्यसपछि कुखुरा बढाउँदै गए। संरचना पनि बढाए। अहिले सबै गर्दा डेढ करोड जति लगानी भएको छ।’ व्यापारको कमाईबाट फार्ममा लगानी बढाउँदै गएको खिल बहादुरले सुनाए। कुखुराको चल्ला ल्याएको ५ देखि ७ महिनामा बिक्रीका लागि तयार हुन्छन्। हरेक महिना चल्ला ल्याउने गर्नाले कुखुरा हरेक महिना बिक्री भईरहेको छ।

खिल बहादुर गोरखाको सिरानथोकमा जन्मिएका हुन्। अहिले उनको परिवार काठमाडौं काठमाडौं गणेशस्थानमा बस्छन्। गुरुङ परिवारको छोरो उनी सानैदेखि नाचगानमा रुचि राख्थे। केही वर्ष विदेशमा विताए। फर्किएपछि पोखरा बसेर केही गुरुङ चलचित्र निर्देशन तथा अभिनय गरे। नेपाली चलचित्र ‘टिष्टापारीको साईनो’को निर्देशन गरे। उनको निर्देशकीय नयाँ चलचित्र हो–मन्त्र, जुन नयाँ वर्षको अवसरमा प्रदर्शनमा आउने तयारी थियो।

उनले व्यवसायले ठूलो रुप लिन्छ भन्ने सोँचेका थिएनन्। लाग्थ्यो, बर्षैभरी चलचित्रमा काम हुँदैन्। विकल्पमा केही व्यवसाय गर्नुपर्छ। त्यहीक्रममा उनले फार्म संचालनमा ल्याउने सोँच बनाएका हुन्। डाक्टर तथा भेटनरी व्यवसायीहरुको परामर्श लिए र फार्म शुरु गरे। तर, आफ्नो व्यवसायको मार्केट यति धेरै होला भन्ने उनलाई लागेको थिएन्। ‘काम गर्दै जाँदा राम्रो हुँदै गयो। लगानी बढाउँदै गए। अनि यत्तिको भएको हो’– उनी भन्छन्।

खिल बहादुरको अबको लक्ष्य छ, व्यवसायलाई अझ विस्तार गर्ने। नयाँ जातका कुखुराहरु ल्याउने, भ्याली बाहिर पनि सप्लाई गर्ने। कालिजको संख्या बढाउने। त्यस्तै कुखुराको दाना फार्ममै तयार गर्ने। साथै फार्ममा होमस्टे संचालन गर्ने। सुनाउँछन, –‘यहाँ आएर आफै कुखुरा काट्ने, पकाउने व्यवस्थाका साथ अर्गा्निक होमस्टे संचालन गर्ने योजना छ। लकडाउन खुलेलगत्तै त्यसको काम अगाडी बढाउँछु।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.