धम्की आयको भन्दै राखी सावन्तको रंगशालामा धुम मचाउने चाहना तुहियो



(सेलिब्रेटी नेपाल)०७० बैशाख १ गते -नयाँ वर्षको उपलक्ष्यमा दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेत्री राखी सावन्तको प्रस्तुती नहुने भएको छ। आयोजकले असुरक्षा महसुस गर्दै कार्यक्रम स्थगित गरेको हो। ‘अज्ञात समूहले हामीलाई धम्क्यायो,’ आयोजक विपनाज मिडियाका भरतकुमार शाहीले भने,’धम्कीले असुरक्षा महसुस गर्‍यौं र कार्यक्रम नै स्थगित गरिदियौं।’
उनले अज्ञात समूहले आफूहरुलाई धम्काएकाले भारतीय कलाकारलाई जोखिममा नपार्न कार्यक्रम स्थगित गरेको बताए। ‘बलिउड म्युजिक एन्ड मस्ती’ नाम दिइएको उक्त कार्यक्रमका लागि बलिउड अभिनेत्री राखि सावन्तसहितको टोली दिल्ली पुगेर पुनः मुम्बई फर्किएको आयोजकले जानकारी दियो।

यसअघि चैत १७ गतेको कार्यक्रम पनि आयोजकले स्थगित गरेको थियो। राखीसँगै, कृष्ण अभिषेक, सुदेश लेहरी, भूमि त्रिवेदी र राजदीपलगायत कलाकारले नयाँ वर्षामा आफ्नो प्रस्तुती दिने कार्यक्रम थियो। आयोजकका अनुसार यो कार्यक्रम पूर्णरुपमै स्थगन गरिएको छ। टिकट काटेकालाई पैसा फिर्ता गर्नेबारे भने आयोजकले केही बताएन।
कार्यक्रमको १० हजार, १ हजार र ५ सयका टिकट दर राखिएको थियो।

Copyright © 2012 - 2026 | All Right Reserved.