रवि लामिछानेले राखे ६२ घण्टा १२ मिनेटको विश्व कीर्तिमान



(सेलिब्रेटी नेपाल)०७० बैशाख १ गते-सञ्चारकर्मी रवि लामिछानेले विश्वको सबैभन्दा लामो टेलिभिजन अन्तर्वार्तामा विश्व कीर्तिमान बनाएका छन् ।
न्यूज २४ टेलिभिजन मार्फत निरन्तर ६२ घण्टा १२ मिनेट अन्तर्वार्ता (टक शो) सञ्चालन गरेर लामिछानेले गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाएका छन् ।
युक्रेनका दुई प्रस्तोताले सन् २०११ मा युक्रेनको च्यानल फाइव टिभीमा बनाएको ५२ घण्टाको रेकर्ड लामिछानेले तोडेका हुन् ।बिहीबार बिहान १०.३४ देखि ‘विश्वले चिन्नेछ नेपाल’ नाम दिएर अन्तर्वार्ता कार्यक्रम थालेका लामिछानेले शनिबार राती १०. ३४ मा ६० घण्टाको लक्ष्य पुरा गरेका हुन् । प्रति घण्टा आरामका लागि प्राप्त गरेको पाँच मिनेट समय समेत जोडेर उनले कूल ६२ घण्टा १२ मिनेटको रेकर्ड बनाएका हुन् ।
‘वुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्देश विश्वभर फैलाउन लामिछानेले अभियान थालिएको न्यूज २४ टेलिभिजनको दावी छ ।एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डको अन्तर्वार्ताबाट सुरु भएको कार्यक्रम चर्चित अभिनेताहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अन्तर्वार्ताबाट समापन भएको छ ।