अमेरिकन आइडलमा दिवेशको प्रस्तुतीले रुवायो निर्णायकलाई (भिडियो)


सेलिब्रेटी नेपाल

एजेन्सी: अमेरिकन आइडलको १८ औं संस्करणमा छनौट भएदेखि नै नेपाली मूलका दिवेश पोखरेलको चर्चा चुलिएको छ । नेपालमा मात्रै नभई अमेरिकन आइडलको स्टेजमा पनि उनी निकै चर्चित छन् । स्टेजमा आर्थर गनको रुपमा परिचित दिवेशले अडिसनबाटै निर्णायकको लगातार मन जितिरहेका छन् ।

गत हप्ताको दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले उठेर ‘वान्स मोर’ भनेका थिए भने सोमबार राती प्रसारण भएको अमेरिकन आइडलमा उनको नयाँ प्रस्तुतीमा निर्णायक लियोनेल रिचीको आँखा रसाए ।

दिवेशले आफ्नो प्रस्तुती दिएर स्टेजबाट बाहिरिएपछि निर्णायक रिचीले अन्य दुई निर्णायकलाई हेरेर भने, ‘उनको प्रस्तुतीले मेरो आँखा रसाए । मलाई माफ गर्नुहोस् ।’ दिवेशले ‘हलिउड विक’ नाम दिइएको उक्त राउन्डमा सिसिआर ब्यान्डको ‘ह्याभ यु एभर सिन द रेन’ गाएका थिए ।

उनले यही गीत मिलाउकीमा भएको अडिशनमा समेत गाएका थिए । अब आफू निकै अघि आइसकेकोले यसमा आफ्नो सिर्जनशीलता पनि मिसाएको उनले बताए । उनले गीतको स्केल पनि परिवर्तन गरे । यद्यपि, निकै छोटो समय भएकोले दिवेशको अरेन्जमेन्टमा ब्यान्डले राम्रोसँग प्रस्तुती दिन नसकेपछि अन्तिम समयमा आफैंले गितार बजाएर गाउने निश्चित गरे । आफूसँग यो भन्दा अरु विकल्प नभएको पनि उनले बताए ।

अन्तिम समयमा स्थिती अलि जटिल देखिएपनि उनले प्रस्तुती दिएपछि तीनै जना निर्णायकले ‘स्ट्यान्डिङ ओभेसन’ अर्थात् उत्साहपूर्ण स्वागत गरेका छन् ।दिवेशले पनि आफ्नो प्रस्तुती सन्तोषजनक रहेको बताए ।