अभिनेता राजले ज्योती मगरसँग ल्याए ‘लाहुरे’(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं:करिब दर्जन चलचित्रमा नायकको भूमिका निर्वाह गरेका अभिनेता राज क्षितिज गायकको रुपमा पनि देखिएका छन् । ‘लाहुरे’ बोलको लोकगीतमार्फत उनी गायकको रुपमा देखिएका हुन् । गीतमा राजलाई गायिका ज्योती मगरले साथ दिएकी छन् । बिहिबार बागबजारस्थित हेल्लो क्याफेमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको छ । कार्यक्रममा लोकप्रिय गायक नवराज घोरासैनी, कलाकार उत्तम केसी, चलचित्र निर्देशक मदन घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा गीतको भिडियोसमेत देखाइएको थियो । भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनाम लगायतको अभिनय रहेको छ । गायक राजकै शब्द रहेको गीतमा लय नविन रावलको रहेको छ । विदेशमा रहेको श्रीमान् छोडेर अर्काे केटासँग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियाले समाज युवापुस्तामाझ छाएको विकृती र बिसंगतीमा पनि तिखो प्रहार गरेको छ ।

भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् । कार्यक्रममा गायक नवराज लम्सालले नयाँ पुस्ताको आगमले लोकगीतको श्रीबृद्धीमा महत्वपुर्ण भूमिका खेल्ने बताए ।