परमिता ‘दि कर्मा’मा गाउँको मुखिया


सेलिब्रेटी नेपाल

काठमाडौँ: ‘चपली हाइट २’ बाट अभिनय करिअर सुरु गरेकी अभिनेत्री परमिता आरएल राणा अभिनीत नयाँ चलचित्र ‘दि कर्मा’ भोली शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । चलचित्रका अन्य कलाकारहरु व्यस्तताका कारण प्रचार-प्रसारमा समय निकाल्न नसकेपछि केही दिनदेखि एक्लै दौडिरहेकी उनी चलचित्रमा आफूले निर्वाह गरेको भूमिका र अभिनयलाई दर्शकले मन पराउनेमा विश्वस्त छिन् ।

चलचित्र रिलिजको पूर्वसन्ध्यामा राजधानीको एक रेस्टुराँमा भेटिएकी उनले आफू दर्शक प्रतिक्रिया बुझ्न आतुर रहेको बताइन् । उनले भनिन्, ‘कलाकार भएपछि भर्सटायल हुनुपर्छ । म पनि फरक फरक भूमिका गर्न रुचाउँछ । ‘दि कर्मा’ मा दर्शकले मलाई अहिलेसम्मकै भिन्न अवतारमा देख्न सक्नुहुनेछ ।’ आफ्नो भूमिका र स्क्रिप्ट राम्रो लागेको कारण चलचित्र गरेको उनको भनाई छ ।

उनले चलचित्रमा आफू अम्बिका दिदीको भूमिकामा रहेको बताइन् । आफ्नो भूमिकाबारे थप प्रष्ट पार्दै उनले भनिन्, ‘उसलाई जे ठिक लाग्यो त्यही गर्नुपर्छ । अरुको कुरा सुन्दैन । एउटा गाउँको मुखियाको भूमिका छ ।’ तराईं क्षेत्रमा बसोबास गर्ने दर्शकहरुले ‘दि कर्मा’ एकदमै मनपर्न सक्ने उनको भनाई छ । केही कुरामा दर्शकले आफूलाई पनि रिलेट गर्ने उनी बताउँछिन् ।

अभिनेत्री परमिताले चलचित्रमा आफू नकारात्मक (भिलेन) भूमिकामा रहेको पनि खुलाइन् । कलाकार भएपछि सबै प्रकारका भूमिका गर्न तयार हुनुपर्ने उनको तर्क छ । ‘दि कर्मा’ को व्यापारिक सफलता वा असफलताले आफूलाई ठूलो अर्थ नराख्ने पनि उनी बताउँछिन् । कलाकार भएपछि चलचित्रको सफलता र असफलताभन्दा अभिनयमा जोड दिनुपर्ने उनको बुझाई छ ।

जय राज राय, श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रुपमा छन् । देवकुमार श्रेष्ठ निर्देशित ‘दि कर्मा’ लाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्रको पटकथा तथा संवाद शुशील पोखरेलको हो । चलचित्रमा परमितासँगै करण वर्मा, नीता ढुंगाना, बुद्दी तामाङ्ग, अनुप सक्सेना लगायतका कलाकारहरुको पनि अभिनय छ ।
तस्विर:विवेक बस्याल