मोबाइल खोस्दै फ्यानको अपमान गरेपछि सलमानलाई गोवामा प्रवेश निषेध


सेलिब्रेटी नेपाल

एजेन्सी: बलिउडका दबंग सलमान खान यतिबेला आफ्नो फिल्म ‘राधे’ को शुटिङमा व्यस्त छन् । यसैबीच सलमान खानको एक भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा खानले आफ्ना एक फ्यानको मोबाइल खोसेर लिएको देख्न सकिन्छ ।

भिडियोमा गोवा विमानस्थलमा कार्यरत एक कर्मचारी तथा उनका फ्यानको हातबाट खानले मोबाइल खोसेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि उक्त भिडियोले सलमानसामु समस्या थपिदिएको छ । उक्त भिडियोलाई लिएर नेशनल स्टुडेन्ट्स युनियन अफ इन्डिया (NSUI ) ले विरोध जनाएको छ । NSUI ले सलमानले माफी माग्नुपर्ने बताएको छ ।

कांग्रेसको विद्यार्थी छाता संगठन NSUI ले गोवाका मुख्यमंत्री प्रमोद सावंतलाई आग्रह गर्दै भनेको छ- यदि सलमानले सार्वजनिक रुपमा माफी मागेनन् भने उनलाई गोवामा निषेध (No Entry) गरिने छ ।

गोवा भाजपाका महासचिव तथा पूर्व सांसद नरेन्द्र सवाईकरले पनि ‘अपमानजनक व्यवहार’प्रति बिना शर्त सलमानले माफी माग्नुपर्ने बताएका छन् । सलमान सुटिङको सिलसिलामा गोवा जाने क्रममा गोवा अन्तर्राष्ट्रिय विमानस्थलमा उनले फोटो खिचिरहेका आफ्ना एक फ्यानको मोबाइल तानेका थिए । सलमानले फ्यानलाई अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ ।

भाइरल भिडियोमा सलमान विमानस्थलबाट बाहिर निस्कँदै गरेको देख्न सकिन्छ । सोही क्रममा उनका एक फ्यान आफ्नो मोबाइलबाट सलमानसँगै आफ्नो तस्बिर लिने प्रयास गर्छन् । तर सलमानले एक्कासी रिसाएर ती फ्यानको मोबाइल तान्छन् । उनले आफ्ना फ्यानको खोसेको मोबाइल आफूसँगै लिएर विमानस्थलबाट निस्कन्छन् ।

त्यसपछि के भएको थियो भनेर भिडियोमा देखाइएको छैन् । तर सलमानको उक्त व्यवहारबाट उनका फ्यान निकै निराश भएका छन् ।

सलमानको हालै रिलिज भएको ‘दबंग-३’ ले बक्स अफिसमा खासै सफलता हात पार्न सकेको थिएन् । बक्स अफिसमा ‘दबंग-३’ लाई भन्दा अक्षय कुमारको ‘गुड न्युज’लाई बढी मन पराइएको थियो ।

हाल सलमान आगामी फिल्म ‘राधे’को सुटिङमा व्यस्त छन् । नयाँ फिल्ममा उनी एक पटक फेरि एक प्रहरी अधिकृतको भूमिकामा देखा पर्दैछन् । यो फिल्ममा निर्देशक प्रभुदेवासँग फेरि पर्दामा फर्किने छन् ।

‘राधे’मा सलमानले एक खुफिया (जासुसी) पुलिस अधिकारी को भूमिकामा दर्शकलाई मनोरञ्जन गराउनेछन् ।’राधे’ यही वर्षको मे २२मा रिलिज हुने बताइएको छ । सलमानका भाइ सोहेल खान यो फिल्मका निर्माता हुन् ।