सेल्फी खिच्नुस कलाकारिता सिक्नुस


सेलिब्रेटी नेपाल

काठमाडौँ: भर्सटायल अभिनेताको रुपमा परिचित विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । क्यारेक्टरलाई जीवन्त बनाउन कुनै कसर बाँकी नराख्ने विपिनले फिल्ममा शिर्ष भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनि ‘सेल्फी किङ’ बनेका छन् । उनि टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ । ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकार एउटा कार्यक्रममा पुगेर फर्किदाको अवस्थालाई फिल्ममा देखाइएको छ । ओखलढुङ्गामा आफ्नो प्रस्तुती दिन जाने क्रममा ‘सेल्फी किङ’ उर्फ विपिनको जीवनमा आउने उतार-चढावमा फिल्म केन्द्रित छ ।

नेशनल अवार्ड विनर समेत रहेका विपिनले आफ्नो प्रस्तुतिले दर्शक माँझ कौतुहलता जगाउन सफल भएका छन् । आउँदो माँझ २४ गतेबाट प्रदर्शनमा आउने फिल्मले नेपालको पपुलर एप हाम्रो पात्रोसँगको सहकार्यमा ‘हाम्रो सेल्फी किङ कन्टेस्ट’ ल्याएको छ । ह्युमर र कमेडी हाउभाउमा खिचिएको सेल्फीमा आफ्नो तस्विर खिचेर इच्छुक सहभागीहरुले हाम्रो कम्युनिटी मार्फत आफ्नो सेल्फी पोष्ट गर्न सक्नेछन् । त्यसरी पोष्ट गरिएको सेल्फीमा सहभागीहरुले विभिन्न मेकअपको प्रयोग समेत गर्न सक्नेछन् । तर त्यो अनिवार्य भने चाही छैन ।

पोष्ट गरिएका सेल्फीहरु मध्य विजेता छनौट गर्दा अनिवार्य कमेडी हाउभाउमै खिचिएका सेल्फीलाई प्राथमिकता दिइनेछ । त्यसरी खिचिएका तस्वीरहरुमा आएका अत्याधिक लाइक र कमेन्टसँगै ‘सेल्फी किङ’ निर्माण टिमले विजेता छनौट गर्नेछ । माघ ५ देखि माघ २० सम्म सहभागिता जनाउन सकिने यस प्रतियोगिताको विजेताको घोषणा माघ २१ गते हाम्रो पात्रो मार्फत गरिनेछ । यस प्रतियोगिताका विजेतालाई कलाकार तथा निर्देशक अनुप बरालको एक्टर्स स्टुडियोमा ३ महिनाको अभिनय तालिमको छात्रवृति प्रदान गरिनेछ भने अन्य १० जनालाई सान्त्वना पुरस्कार स्वरूप प्रिमियरको पास जनही २ वटाको दरले उपलब्ध गराइनेछ ।

यस प्रतियोगिताले ‘सेल्फी किङ’ झैँ कलाकार बन्ने सपना बोकेको व्यक्तिलाई सहयोग गर्नेमा फिल्मका निर्माता दिनेश राउत विश्वस्त छन् । आफ्ना प्रयोगकर्तालाई यसले फाईदा पुर्याउने र नेपाली फिल्मको प्रवर्धनमा पनि टेवा पुग्ने भएकोले यस प्रतियोगितालाई अगाडी ल्याइएको हाम्रो पात्रोका एमडी सन्तोष देवकोटाले बताए । यस किसिमको प्रतियोगिता र त्यसबाट कलाकार बन्न चाहनेलाई थोरै भएपनि लाभ पुग्नेमा विपिन विश्वस्त छन् । फिल्ममा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् । फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनि यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।

दिनेश राउत र सुवास थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । यसअघि दिनेश र सुवासबीच फिल्म ‘प्रसाद’ मा सहकार्य भएको थियो । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी, कृति जोशीको श्रृगार, आशिष पौडेलको कस्ट्युम डिजाइन, उत्तम न्यौपानेको साउण्ड डिजाइन, बिनोद पोखरेलको स्टील फोटोग्राफी र किशोर नेपालको कला निर्देशन रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।