जेठको गर्मीमा ‘चिसो एस्ट्रे’


सेलिब्रेटी नेपाल

काठमाडौँ: गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको चलचित्र ‘चिसो एस्ट्रे’ जेठ १६ मा सार्वजनिक प्रदर्शनमा आउने भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा पेश गर्ने चलचित्रलाई दिनेश पाल्पाली (दिन्श) ले निर्देशन गरेका हुन् । दिन्शले यसअघि ‘बालकृष्ण सम’ अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ)सँगै थाइल्यान्ड, क्यालीफोर्निया, चीन आदि देशका फिल्म महोत्सवमा छनोट भइ विभिन्न अवार्ड जित्न सफल भएको थियो ।

चलचित्रमा दिव्य देवले मदनको रुपमा मुख्य यात्रुको भूमिका निर्वाह गरेका छन् भने सहयात्रीको भूमिकामा छन् निकुन श्रेष्ठ, नविन लम्साल, सुशील राज पाण्डे, रबिन तामाङ र सृष्टि श्रेष्ठ । दिव्य देव नेपाली र अंग्रेजी नाटकका उम्दा कलाकार हुन् भने नविनले राहदानी, कारखाना आदि फिल्ममा काम गरिसकेका छन् । निकुन श्रेष्ठ, छड्के र झिग्रानामा रुचाइएका कलाकार हुन् ।

कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रबिन स्याङ्बोले सघाएका छन् । चलचित्रमा दिन्शले लेखनसँगै गीतकारको पनि भूमिका निर्वाह गरेका छन् । चलचित्रमा संगीत अजर जंगमको रहेको छ । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्जवल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

नोबेल फ्रिक्सको पाश्र्व संगीत रहने चलचित्रमा कला संग्रौलाको आर्ट डिरेक्सन र फ्रान्सेली प्रडक्सन डिजाइनर सोनिया जोसेरयान्ड मेर्सियरको डिजाइन रहेको छ । चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेनमेन्ट र जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ । चलचित्रले केही दिनअघि मात्र चलचित्रका मुख्य कलाकारलाई परिचित गराउने उद्देश्यसहित फस्टलुक सार्वजनिक गरिसकेको छ ।