नबिन र एड्रियनले इटहरी झुमाउने


सेलिब्रेटी नेपाल

काठमाडौँ: पूर्वका पर्यटकीय स्थानको प्रवर्धन गर्ने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ । हाम्रो कार्टले भिजिट नेपाल ट्वान्टी ट्वान्टीको समेत प्रवर्धन गर्ने गरी कन्सर्टको आयोजना गर्न लागेको हो । आयोजक हाम्रो कार्टले बिहीबार पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

हाम्रो कार्टका प्रमुख प्रमेश श्रेष्ठले आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यसहित म्युजिक फेस्टिभल गर्न लागेको जानकारी गराए । ‘पूर्वाञ्चल म्युजिक फेस्टिभल २०७६’ नाम दिइएको फेस्टिभलमा एड्रियन प्रधान र नबिन के भट्टराई विशेष आकर्षण रहनेछन् । कार्यक्रममा दुबै गायक आफ्नो ब्यान्डसहित प्रस्तुत हुने कार्यक्रममा जानकारी गराइयो । कन्सर्टमा दुबै गायकका अलावा भ्वाइस अफ नेपाल प्रतिस्पर्धी सुशान्त केसीको पनि प्रस्तुति रहनेछ । सुशान्त गत सिजनको भ्वाइस अफ नेपालको टप फाइभभित्र परेका प्रतिस्पर्धी हुन् । कार्यक्रममा अस्तित्व ब्यान्डको पनि प्रस्तुति रहने श्रेष्ठले बताए ।

इटहरीस्थित रंगशालामा हुने कार्यक्रम यही ३० गते शनिबार बेलुकी ४ बजेबाट सुरु हुनेछ । कार्यक्रममा सहभागिताका लागि २ सय, हजार र २५ सय टिकट शुल्क तोकिएको छ ।