झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै


सेलिब्रेटी नेपाल

काठमाडौँ : साहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ।

विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा/संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु गौतमको स्वर छ। उनी यो चलचित्रको सह निर्माता समेत हुन् । गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई त्यस समय अष्ट्रेलियाको भियानामा प्रिमियर सो गर्नुपरेकाले प्रदर्शनमा ल्याउन सकिएको थिएन।

साहित्यकार घिमिरेले अपाङ्गता भएकै कारण बाल्यकालमा भोग्नुपरेको सामाजिक, पारिवारिक घृणा र तिस्कारको कहानीलाई चलचित्रमा प्रस्तुत गरिएको छ। घिमिरेको जन्मस्थान धनकुटा, धरानको बिपी मेमोरियल अस्पताल र काठमाडौँको रातो बङ्गलामा चलचित्र छायाँकन गरिएको छ ।

बच्चादेखि ज्येष्ठ नागरिकसम्मले मन पराउने अपेक्षा गरिएको चलचित्रमा घिमिरेको सङ्घर्षले धेरै मानिसलाई प्रेरणा दिने उद्देश्य राखेको निर्देशक विष्टले बताए ।

चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवावस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरेको विशेष भूमिका छ । घिमिरेका पिताका भूमिकामा किशन सुनार, मातामा उमा गिरीले अभिनय गरेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदीलगायत ३० भन्दा बढीको अभिनय छ।

यसअघि निर्देशक विष्टले ‘प्रेम प्रतिक्षा’, ‘रणसङ्ग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण/निर्देशन गरेका छन् । शारीरिक तथा मानसिकरूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरुलाई समाजले अपहेलित गर्नु हुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ।

शारीरिकरूपमा असामान्य भएका यस्ता मानिसलाई दैवी श्राप/पूर्वजन्मको पापका रूपमा लिने प्रचलन पनि छ। उनीहरुको घरका सदस्यलाई पर्ने असजिला पक्ष तथा ती सदस्यले राम्रो गर्दा गर्दै पनि पीडितलाई हुन जाने मनोविज्ञानलाई व्यवहारिकरूपमा समेटिएको चलचित्रको लागत करीब रु ८० लाख रहेको छ।

विसं २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेका छोरीका रूपमा जन्मिएकी घिमिरेले रचना गरेका कृतिमा सङ्कल्प, आफ्नै चिता अग्निशिखातिर, मान्छेभित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू र क्वाँटी सङ्ग्रह कविता छन् भने उनले प्राप्त गरेका पुरस्कार राम बाल साहित्य प्रतिभा पुरस्कार २०५५, अस्वीकृत विचार साहित्य पुरस्कार २०५६, मदन पुरस्कार २०६७ र लैनसिंह वाङ्देल पुरस्कार २०७२ हो।

मस्तिष्क पक्षघातले गर्दा उनका लुला हातगोडा भएकाले उनको जीवन अत्यन्तै कष्टकर तथा दुःखदायी छ। उनले कुनै पाठशाला र गुरुबाट औपचारिक शिक्षा लिन पाएकी थिईनन् । गोडाको बूढीऔँलाले कखरा सिक्दै प्राप्त गरेको सफलता सबैका लागि प्रेरणादायी बनेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.