आफ्नो लागी अरु कसैले गर्दैन आफैँ बोलौँ: निश्चल बस्नेत


सेलिब्रेटी नेपाल

काठमाडौँ: निश्चल बस्नेत र स्वस्तिमा खड्का स्टारर चलचित्र ‘घामड शेरे’ २२ कार्तिकदेखि सार्बजनिक प्रदर्शनमा आउनेछ । कार्तिक ८ गते बाट नै प्रदर्शनमा आउने भनिएको चलचित्र मल्टिप्लेक्समा कम शोजका कारण दुई साता पछाडी धकेलिएको हो । हेमराज बिसीको निर्माण एवं निर्देशनमा बनेको चलचित्र प्रदर्शन मिति सरे पश्चात ‘घामड शेरे’लाई लिएर केहि प्रश्न उब्जिए ।

अन्याय पर्दा खोला विरुद्द नै मुद्दा हाल्न पछि नपर्ने एक ‘घामड’ पात्रको जीवनमा आउने उतारचढाव चलचित्रले बोकेको छ । जसको शिर्ष भूमिकामा निश्चल छन् । भने, उनको श्रीमती स्वस्तिमासँग साली-भेनाको सम्बन्ध गाँसिएको छ ।

आइतबार निर्माण पक्षले प्रेस भेटघाट गर्दै चलचित्र सार्नुको बारेमा क्लियर गर्यो । हुनत, निर्माण पक्षले हलमा सोचेजति स्थान नमिलेकाले पछाडी सर्नु परेको पहिले नै प्रष्ट पारिसकेको थियो । त्यैपनि निर्देशक बिसी र कलाकार निश्चल र स्वस्तिमा खड्काले रिलिजबारे स्पष्टीकरण दिएका छन् ।

‘हामीले हाम्रो सिनेमाबाट जति आशा गरेका थियौँ । शोज संख्याले त्यो परिपूर्ति नगर्ने देखियो । अनि मिहेनत खेर जाने देखेर पछाडी सर्यौं।’ निर्देशक बिसीले भने ।

उता निश्चलले आफु समस्यामा पर्दा आफैले आवाज उठाउनु पर्ने धारणा व्यक्त गरे । यस अघि पनि दुई तीन पटक समस्यामा पर्दा पाएको दु:ख सम्झिदै निश्चलले भने ‘मैले पहिले नै भोगेको छु । त्यसैले अहिले अलि कम बोल्न थालेको छु । यहाँ एक्लैले आवाज उठाएर केहि हुँदैन। र, आवाज पनि स्वयम्ले मात्र उठाउनु पर्छ ।’

शोजको विषयमा असन्तुष्टि जनाउदै स्टाटस लेखेका निश्चल अगाडी भने ‘यहाँ हामी एक-एक जनाले भन्दा पनि निर्माता संघले आवाज उठाउनु पर्ने हो । उसले एक्सन लिनलाई हामीले उजुरी गर्नै पर्छ । यतिकै देखेर केहि गर्दैन संघले । त्यसैले आफुलाई पर्दा आफैले मात्र बोल्नुपर्ने अवस्था शृजना भएको छ ।’