बन्ने भो ‘दिमाग खराब’ स्वस्तिमा संग निश्चलको जोडी


सेलिब्रेटी नेपाल

काठमाडौँ: रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्का यति बेला रिल जोडीको रुपमा चलचित्र ‘घामड शेरे’को प्रचार प्रसारमा ब्यस्त छन्। निश्चल र स्वस्तिमाको मुख्य भूमिका रहेको चलचित्र ‘घामड शेरे’दिपावलीको अवसरमा आउने शुक्रबार अर्थात् कार्तिक ८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ। तिहार लगत्तै यो जोडी नयाँ चलचित्र ‘दिमाग खराब’ मा ब्यस्त हुने छन्। निश्चल बस्नेत र सिमोस सुनुवारले मिलेर बनाउने चलचित्रमा यो जोडीको मुख्य भूमिका रहनेछ । तिहार लगत्तै छायांकन सुरु हुने निश्चलको होमप्रोडक्सन चलचित्र ‘दिमाग खराब’ लाई सिमोसले निर्देशन गर्नेछन् ।

बस्नेतको ब्यानर ब्ल्याक हर्स पिक्चर्स र सिमोसको आलु प्रोडक्सनले मिलेर चलचित्र बनाउन लागेका हुन् । दीपकराज गिरीसँग मिलेर ‘छन् गेडी सबै मेरी’ निर्देशन गर्ने चर्चाका बीच सिमोसले निर्देशन गर्ने नयाँ चलचित्र घोषणा भएको हो । ‘दिमाग खराब’ नाममा चलचित्र बन्ने भनेर तिन वर्ष अघि नै विकास बोर्डमा दर्ता भएको थियो । चलचित्र विकास बोर्डमा नाम दर्ता गरेको तीन वर्षसम्म चलचित्र निर्माण भएर प्रदर्शन नभए निर्माण इजाजत स्वतः रद्द हुने प्रावधान छ । र, उक्त नाम अर्को कम्पनीले दर्ता गरेर चलचित्र बनाउन मिल्छ । ‘दिमाग खराब’ को हकमा पनि यही भयो । बोर्डमा नाम दर्ता गरेको तीन वर्षसम्म पनि चलचित्र नबनेपछि स्वतः निर्माण इजाजत रद्द भयो र निश्चलले आफ्नो ब्यानरमा ‘दिमाग खराब’ दर्ता गरे ।