सामाजिक सञ्जालका कारण पप स्टारले गरिन् आत्महत्या


सेलिब्रेटी नेपाल

एजेन्सी:दक्षिण कोरीयाको राजधानी सिओल नजिकै २५ वर्षीया पप स्टार सुली आफ्नै निवासमा मृत फेला परेकी छन् । सोमबार सुली आफ्नै निवासमा मृत भेटिएकी थिइन् । हाल उनको मृत्यु हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट सुलीले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।

सुलीको निधनले उनका फ्यानहरु स्तब्ध बनेका छन् । यसअघि सामाजिक सञ्जालमा अभद्र व्यवहार र टिप्पणी आएपछि के-पपबाट टाढिएकी थिइन् । सुलीकी साथी जोध्युनले समेत आत्महत्या गरेकी थिइन् । जोध्युनको अन्तिम संस्कारमा समेत सुली सहभागी भएकी थिइन् ।

को हुन् पप स्टार सुली ?

सुलीको वास्तविक नाम चोइ जिङ री हो । सन् १९९४ मा दक्षिण कोरियाको बुसान शहरमा उनको जन्म भएको थियो । उनले सुरुमा बाल कलाकारबाट आफ्नो क्यारिअर सुरु गरेकी थिइन् । पछि गायिका, गीतकार, नायिका र मोडेल बनेर ख्याति कमाएकी थिइन् ।

इन्स्टाग्राममा ५० लाख बढी फलोअर्स भएकी सुलीले सन् २०१५ मा एफएक्स ब्याण्ड छोडेकी थिइन् । उनले अभिनय क्षेत्रमा प्रवेश गरेपछि उक्त ब्यान्ड छोडेकी थिइन् । सामाजिक सञ्जाल र अनलाइनमा व्यापक आलोचना, टिप्पणी र अभद्र व्यवहार सामना गरेपछि सुली सांगीतिक क्षेत्रबाट टाढिँदै गएको कतिपयको बुझाइ छ ।

दक्षिण कोरियामा पप स्टारलाई आइडल मानिन्छ । सुली भने ‘नो ब्रा’ अभियानका कारण पटक-पटक विवादमा तानिएकी थिइन् । ब्रा नै नलगाइ उनले कैयौं तस्बिर खिचाएपछि उनका आलोचकहरु बढेका थिए ।

सुलीको पहिलो फोटो सन् २०१६ को मे महिनामा इन्स्टाग्राममा प्रकाशित भएको थियो । उक्त फोटोका कारण उनले अत्यधिक आलोचना खेप्नु परेको थियो । अघिल्लो महिना इन्स्टाग्राममा लाईभ स्ट्रिममा उनले स्तन दुर्घटनावश देखिएको थियो । यसले समेत दक्षिण कोरियाभर विवाद निम्त्याएको थियो ।