‘सेलिब्रेटी’को दशैं: राजेश करिष्मादेखि दुर्गेश मेलिना सम्मको दशैं योजना के छ ?



काठमाडौं: बजार होस् वा गाउँ। बालक वा वृद्ध। धनी वा गरिव। अनि साधारण होस् वा सेलिब्रेटी। हरेकलाई बडा दशैंको उमंग र उत्साहले छोएको छ।

यहाँ जोडिएको छ, नेपाली ‘सेलिब्रेटी’को दशैंलाई। वर्षभरी सुटिङ , गायन, सिर्जना तथा साधनामा रमाउने सेलिब्रेटीहरु दशैं कसरी मनाउँदैछन्? हामीले केही चलचित्र तथा गीत संगीत क्षेत्रका सेलिब्रेटीलाई दशैं योजनाबारे सोधेका थियौं।

जसमा धेरै सेलिब्रेटी फुर्सद निकालेर आफन्तसँग दशैं मनाउने योजना रहेको सुनाए। राजधानीभन्दा बाहिर घर हुने सेलिब्रेटीहरु दशैंको टिका थाप्न जन्मथलो फर्किने तथा कोही फर्किसकेको बताए।

केही सेलिब्रेटी भने दशैं विशेष कार्यक्रमको लागि विदेशी भूमिमा पुगेको बताए। केही सेलिब्रेटी कलाकारको दशैं योजना उनीहरुकै शब्दमा :

राजेश हमाल (अभिनेता)

यस वर्षको दशैं धनकुटामा मनाउने योजना थियो। त्यहाँ मेरो कार्यक्रम तय भएको थियो। त्यो कार्यक्रममा सहभागी हुने र उतै दशैं मनाउने योजना थियो। तर, पूर्वतिर पानी परेका कारण त्यहाँ जान सकिन। त्यसैले यसवर्षको मेरो दशैं काठमाडौंमा हुनेछ। दशैंको समयमा काठमाडौं शान्त लाग्छ।

मैले दशैंको दिन टीका नलगाएको १६ वर्ष भयो। आमाको विजया दशमीकै दिन निधन भएका त्यो दिन श्रृाद्ध पर्छ। त्यसैले त्यसको भोलिपल्ट मात्र टिका लगाएर दशैं मनाउनेछु।

करिष्मा मानन्धर (अभिनेत्री)

दशैंको खासै योजना बनाउँदिन। अष्टमीको दिन काठमाडौं घरमै पारिवारका सबै सदस्य जम्मा भएर खानपान गरेर रमाइलो गर्छौं। पारिवारिक भेटघाट, खानपान गरेर नै दशैं मनाउनेछु। मलाई दशैंमा चंगा उडाउन आनन्द लाग्छ। यसवर्ष मिलेसम्म चंगा उडाएर रमाइलो गर्नेछु।

नारायण रायमाझी (वरिष्ठ गायक तथा चलचित्र निर्देशक)

गतवर्ष दशैं जन्मघर पाल्पामा मनाएको थिए। यसवर्ष भने दशैं विदेशमा बित्ने भएको छ। म सांगीतिक कार्यक्रमको शिलशिलामा अमेरिका आइपुगेको छु। यहाँ केही दशैं विशेष कार्यक्रमहरुमा सहभागी हुनेछु। यहाँ रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीसँग यसवर्ष दशैं मनाउनेछु।

सिताराम कट्टेल (कलाकार तथा सामाजिक अभियन्ता)

हाम्रो चलचित्र ‘सेन्टी भाइरस’को अहिले पोखरामा छायांकन चलिरहेको छ। त्यसैले दशैंको तयारी गर्न भ्याएको छैन। फूलपातीको दिन केही दिनको लागि छायांकन रोकेर काठमाडौं फर्किनेछु। काठमाडौंमा हजुरबुवा, हजुरआमा हुनुहुन्छ। उहाँहरुको हातबाट टिका तथा आशिर्वाद लिनेछु। परिवार, आफन्तसँग दशैं मनाउनेछु।

शंकर बिसी (मोडल तथा नृत्य निर्देशक)

दशैंका लागि यो वर्ष नेपालगञ्ज घर जाँदै छु, त्यो पनि तीन वर्ष पछि। त्यसैले यसवर्षको दशैं मेरा लागि बढी विशेष छ।

१९ गतेसम्म घरमा पुग्नेछु। त्यहाँ वर्षौपछि आफन्त, साथीभाइसँग भेट हुन्छ। आफूभन्दा ठूलाबाट टिका र आशिर्वाद लिने, धेरैपछि भेट भएका साथीभाइसँग खानपान तथा दुख सुखका कुरा हुन्छ। त्यस्तै दशैंमा मेरो गाउँमा सांगीतिक कार्यक्रम हुन्छ। त्यहाँ गाउँका दाजुभाइ, दिदीबहिनीहरु मेरो नृत्य हेर्नुहुन्छ। समग्रमा दशैं निकै रमाइलो हुनेछ।

स्वस्तिमा खड्का (अभिनेत्री)
आफन्त बित्नु भएकोले यसवर्ष दशैं मनाउन नमिल्ने भएको छ। टीका नलाएपनि अन्य रमाइलोहरु हुने नै भयो। अन्य समय परिवारसँग धेरै समय विताउँन पाइदैन्। यो दसैंमा परिवार, आफन्तसंग धेरै समय विताउने योजनामा छु।


दुर्गेश थापा (मोडल तथा गायक)

दशैं बागलुङ घरमा मनाउनेछु। दशैंको लागि भनेर त्यस्तो तयारी गरेको छैन्। धेरै स्थानमा दसैं विशेष कार्यक्रमहरु छन्। त्यो बाहेक अहिलेको दशैं चलचित्र ‘छ माया छपक्कै’को ‘बीच्च बीच्चमा’गीतले विशेष बन्ने भइहाल्यो।

कार्यक्रमहरु सकेर दशैंको अघिल्लो दिन घर पुग्नेछु। परिवारिका जमघटमा टिका लगाउने धेरैमा भेट भएका साथीभाई भेटेर दुःख–सुःखका गफ गरेर दशैं मनाउनेछु।

मेलिना राई (गायिका)
यसवर्ष मेरो दशैं नेपालमा हुँदैन। बु्रनाईमा सांगीतिक शोको लागि जाँदैछु। नवमीको दिन त्यहाँ शो छ। १६ गते यहाँबाट हिँडछु। त्यसैले यसवर्ष मैले परिवारमा टीका थाप्न पाउँदिन्।

पुष्प खड्का (अभिनेता)

यस वर्षको दशैं भारतको पुनामा मनाउने योजना छ। हाम्रो घर कैलाली हो। तर, त्यहाँ कोही पनि हुनुहुन्न। आमा बुबा पुनामा हुनुहुन्छ। यसैले यसवर्ष बहिनी र म दशैं मनाउन पुना जानेछौं। त्यहाँ आमा बुवासँग टिका र आशिर्वाद लिने, घुमघाम गरेर दशैं मनाउनेछु।

आँचल शर्मा (अभिनेत्री)
दशैं काठमाडौं घरमै बनाउनेछु। दशैं मलाई असाध्यै मनपर्छ। दशैंको महत्व भनेकै टाढाटाढाका आफन्तसंग भेट हुने अवसर जुर्छ। टीका लगाउने, परिवार तथा आफन्तसंग खानपान गर्ने, रमाईलो गरेर दशैं बित्छ।

वसन्त सापकोटा (संगीतकार)
दशैं पोखरामा बाबा ममि लगायत आफन्तका साथ मनाउँछु। घरमा टीका लगाएपछि ससुराल झापा पनि जान्छु। दशैंमा पहिलेदेखि चलिआएको नयाँ कपडा लगाउने प्रचलन छ।

त्यसैले परिवारका लागि केही कपडा किनेको छु। दशैंमा धेरैपछि परिवार, आफन्त, साथीभाईसंग भेट हुने अवसर जुर्छ। त्यसैले दशैंलाई लिएर उत्साहित छु।

दिवाकर भट्टराई (निर्देशक)
यसवर्षको दशैं मेरा लागि विशेष छ। कारण, विहेपछिको पहिलो दशैं मनाउँदैछु। जन्मथलो सिन्धुलीमा टीका लगाएपछि ससुराली धनगढी जानेछौं। दशैंको स्पेशल भनेको टिका हो। अर्को, स्पेशल भनेको बाल्यकालका साथीहरु भेटन पाइन्छ।

अञ्जली अधिकारी (मोडल)
दशैं घर बर्दियामा परिवारका साथ मनाउनेछु। चितवन, सिमरा लगायतका स्थानमा सांगीतिक कार्यक्रमहरु सकेर टीकाको दिनमात्र घर पुग्नेछु। दशैंमा मान्यजनबाट टिका–आशिर्वाद थाप्ने, साथीभाईसंग रमाईलो गर्ने, मिलेसम्म पिङ खेल्ने योजना छ।

नविन पौडेल (गायक)
दशैं परिवारका सदस्य, आफन्त, साथीभाई भेट हुने अवसर पनि हो। यसवर्ष परिवार, आफन्त, साथीभाईका माझ जन्मघर पाल्पामा दशैं मनाउनेछु। केही सांगीतिक कार्यक्रमहरुमा पुग्निन्छ। ती कार्यक्रम सकेर नवमीका दिन घर पुग्नेछु। गाउँमा मान्यजनको हातबाट टिका लगाउने, सबैसंग रमाईलो गरेर दशैं मनाउने योजना बुनेको छु।

मदन खड्का (मोडल तथा निर्देशक)
दशैं घर कपिलवस्तुमा मनाउँछु। दशैंमा अलि फुर्सद मिलाएर चाडो घर जान मन लाग्छ। तर, व्यस्तताले गर्दा हरेक वर्ष ढिला नै हुन्छ। यसवर्ष अष्टमीका दिन घर पुग्छुहोला। त्यहाँ परिवार, आफन्त, साथीभाईसंग रमाईलो गर्ने, मान्यजनसंग टिका लगाएर आर्शिर्वाद लिएर दशैं मनाउनेछु।

यज्ञ सापकोटा (गायक)
दशैं घर स्याङजाको गल्याङमा मनाउनेछु। दशैंको केही दिनअघि घर जानेछु। लिपपोतमा म आफै खटिँदै आएको छु। दसैंमा मान्यजनवाट टिका र आशिर्वाद लिनेछु। घरमा टिका लगाएर ससुराल पनि जानेछु। समग्रमा पिङ खेल्ने, विदेशबाट आएका साथीभाईसंग रमाईलो गर्ने तथा परिवारको साथनै दशैं मनाउनेछु।

बिरेन्द्र भट्ट (सिनेम्याटोग्राफर)

यसपालिको दशैँ घर डोटीमा मनाउनेछु। दशैंको केही दिनअघि घर जानेछु। गाउँमा मान्यजनको हातबाट टिका लगाउने, सबैसंग रमाईलो गरेर दशैं मनाउने योजना छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.